काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारले संविधान संशोधनलाई अत्यन्तै हल्का, अपरिपक्व, सतही रूपमा लिएको टिप्पणी गरेका छन् ।
पार्टी कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै संसद्को गणितको आधारमा संशोधन हुन नसक्ने बताए ।
उनले भने, ‘सरकार बनाउनका निम्ति निर्माण भएको संसद्ले मसँग भएको गणितको आधारमा म संविधान सभाको जस्तो अभ्यास गर्छु भनेर ठान्यौँ भने त्यो गलत हुन्छ ।’ उनले सरकारले संविधान संशोधनका लागि बनाएको कार्यदलमाथि नै प्रश्न उठाए ।
उनले थपे, ‘हामीले एकै पटक संविधान संशोधनको विषयमा प्रवेश गर्न थालेको जस्तो बाहिरबाट हेर्दै गर्दा हामीहरू यस्तो कुरा देख्दछौँ । हाम्रो मुख्य डर र चिन्ता एकदमै स्पष्ट छ। सरकारले प्राथमिकता निर्धारण गरेर कुनै एउटा निश्चित वा स्पष्ट समस्यालाई सुधार गर्नका लागि संशोधनको प्रस्ताव गरेको हामी पाउँदैनौँ ।’
संसद् र सडकमा रहेका विभिन्न राजनीतिक दल, जाति, क्षेत्र र स्वार्थ समूहहरूले आफ्नो अभीष्ट पुरा खेल्नसक्ने बताए ।
उनले थपे, ‘राज्यको स्वरूप, शासकीय स्वरूप, नागरिकका स्थापित मौलिक अधिकारहरू नै परिवर्तन गर्नुपर्छ भन्ने जस्ता मागहरू उठ्न सक्दछन् । यसले शासनको मुख्य–मुख्य विषयलाई ओझेलमा पार्न सक्छ र देश कता–कता मोडिने हो भन्ने एउटा अनिश्चिततातर्फ लिएर जान सक्छ भन्ने हाम्रो अर्को चिन्ताको विषय हो ।’
उनले सरकारले बनाएको कार्यदलप्रति सन्तुष्ट नभएर वैशाख १४ गते नै आफूहरू सहभागी हुन नसक्ने भन्दै पत्र पठाएको स्मरण गरे ।
उनले भने, ‘कार्यदलमा हामीले प्रतिनिधि पठाएनौँ । हामीले त्यही पत्रमार्फत सार्वजनिक रूपमा अपिल ग¥यौँ, अन्य राजनीतिक दलहरूलाई पनि, जानुको कुनै औचित्य देख्दैनौँ, अहिले सबै राजनीतिक दलहरूले ढिलै भएपनि आफ्ना प्रतिनिधिहरूलाई फिर्ता बोलाउनुभएको छ । यो अवस्था आउँछ भन्ने कुरा हामीलाई वैशाखमै थाहा थियो ।’







प्रतिक्रिया