मनोरञ्जन

टिभिएस झापा रकस्टार सिजन–३ को उपाधि इलामको आवाज ब्यान्डलाई

टिभिएस झापा रकस्टार सिजन–३ को उपाधि इलामको आवाज ब्यान्डलाई


बिर्तामोड । पूर्वकै चर्चित सांगीतिक प्रतियोगिता टिभिएस झापा रकस्टार सिजन–३ को उपाधि इलामको आवाज ब्यान्डले जितेको छ।

बिर्तामोडस्थित अग्रसेन भवनमा शुक्रबार साँझ भव्य रूपमा सम्पन्न ग्रान्ड फिनालेमा पाँच प्रतिस्पर्धी ब्यान्डलाई पछि पार्दै आवाज ब्यान्डले उपाधि जित्न सफल भएको हो। प्रतियोगितामा चारआलीको यात्री ब्यान्ड फस्ट रनरअप बन्दा धुलाबारीको जेनियम ब्यान्ड सेकेन्ड रनरअप बनेको छ।

उपाधिसँगै आवाज ब्यान्डले ५० हजार रुपैयाँ नगद, ट्रफी, म्युजिक भिडियो निर्माण गर्ने अवसर तथा अन्य आकर्षक पुरस्कार प्राप्त गरेको छ। फस्ट रनरअप बनेको यात्री ब्यान्डले ३० हजार रुपैयाँ नगद तथा सेकेन्ड रनरअप बनेको जेनियम ब्यान्डले २० हजार रुपैयाँ नगदसहित ट्रफी प्राप्त गरेका छन्। विजेता ब्यान्डहरूले विभिन्न ब्रान्डका गितार तथा पोर्टफोलियो सुट समेत प्राप्त गरेका छन्। साथै, प्रतियोगिताको टाइटल स्पोन्सर जगदम्बा मोटर्सअन्तर्गतको टिभिएस को ब्रान्ड गीत रचना तथा निर्माण गर्ने अवसरसमेत उत्कृष्ट ब्यान्डलाई प्रदान गरिने घोषणा गरिएको छ।

विधागत पुरस्कारतर्फ बिर्तामोडको बास क्लेफ ब्यान्डले मल्टिमिडिया अवार्ड प्राप्त गरेको छ। यात्री ब्यान्ड, चारआली ले बेस्ट सङ राइटर, बेस्ट गिटारिस्ट र बेस्ट ड्रमर विधामा पुरस्कार जित्न सफल भएको छ। त्यस्तै आवाज ब्यान्ड, इलामले बेस्ट भोकलिस्ट र बेस्ट बासिस्ट अवार्ड आफ्नो नाममा पार्न सफल भयाे ।

कोशी प्रदेशस्तरीय प्रतियोगिताको फाइनलमा इलामको आवाज ब्यान्ड, चारआलीको यात्री ब्यान्ड, धुलाबारीको जेनियम ब्यान्ड, बिर्तामोडको बास क्लेफ ब्यान्ड र राग भर्स ब्यान्डबीच उपाधिका लागि प्रतिस्पर्धा भएको थियो।

नेपालकै पहिलो ड्रमर देव राना प्रमुख अतिथि रहेको कार्यक्रममा विजेता तथा विभिन्न विधामा उत्कृष्ट बनेका कलाकारलाई नगद पुरस्कार, ट्रफी तथा सम्मान प्रदान गरिएको थियो। प्रतियोगिताको फिनालेमा संगीतकार संजीव सुब्बा, गायक तथा संगीतकार सहदेव लामा तथा अर्जुन दाहाल निर्णायकका रूपमा रहेका थिए।

सिजन–३ का लागि वैशाख ५ गतेदेखि डिजिटल आवेदन खुला गरिएको प्रतियोगितामा १२ वटा ब्यान्ड सहभागी भएका थिए। असार १५ गते सम्पन्न फिजिकल अडिसनपछि पाँच उत्कृष्ट ब्यान्ड ग्रान्ड फिनालेमा पुग्न सफल भएका थिए।

अमृत स्टोरको प्रस्तुति तथा एनएसएस इभेन्ट्सको व्यवस्थापनमा सम्पन्न प्रतियोगिताको मुख्य प्रायोजक जगदम्बा मोटर्सको टिभिएस रहेको थियो। कार्यक्रममा टिभिएसले नयाँ अपाचे आरटिआर १६० ४भी मोटरसाइकलको क्षेत्रीय सार्वजनिक प्रदर्शनसमेत गरेको थियो।

सोही अवसरमा टिभिएसका नेशनल सेल्स हेड हरि न्यौपानेले प्रतियोगितामार्फत युवासँग जोडिन पाएकोमा खुसी व्यक्त गर्दै उत्कृष्ट ब्यान्डलाई टिभिएसको ब्रान्ड गीत निर्माण गर्ने अवसर प्रदान गरिने जानकारी दिएका थिए।

प्रतियोगिताका निर्देशक सुनिता तामाङले सञ्चालन गरेको कार्यक्रममा आयोजक समितिका अध्यक्ष अमृत पौडेलले झापा रकस्टार केवल प्रतियोगिता मात्र नभई नयाँ प्रतिभा र संगीतप्रेमीलाई एउटै मञ्चमा जोड्ने सांगीतिक उत्सवका रूपमा स्थापित हुँदै गएको बताए। प्रतियोगितामार्फत कोशी प्रदेशका उदाउँदा ब्यान्ड तथा संगीतकर्मीलाई राष्ट्रिय स्तरमा आफ्नो प्रतिभा प्रस्तुत गर्ने अवसर मिलिरहेको उनको भनाइ थियो।

शेयर गर्नुहोस :

0
Shares