काठमाडौँ । आठौँ एक्स्ट्रिम इनर्जी रेडियो कान्तिपुर नेसनल म्युजिक अवार्ड – २०८२ अन्तर्गत उत्कृष्ट आधुनिक गायकको अवार्ड गायक शिव परियारले प्राप्त गरेका छन् । पुल्चोकस्थित प्लाजामा शुक्रवार आयोजित रेडियो कान्तिपुरको २८औँ वार्षिकोत्सव समारोहमा ‘तिमी अर्कैको भइसक्यौ’ गीतबाट परियार उक्त अवार्डबाट सम्मानित भएका हुन् ।

उत्कृष्ट आधुनिक गायक विधामा परियारसँगै ‘सुन्छौ मलाई कसम’ बाट प्रवीण भेटवाल, ‘हरेक रात’ बाट, राजेश पायल राई, ‘आमा के गरेर तिरौँ’ बाट स्वरूपराज आचार्य र ‘झरीले कतै’ बाट सुमनकुमार श्रेष्ठ मनोनयनमा परेका थिए ।
शिव परियारको व्यावसायिक साङ्गीतिक यात्रा २०५९(६० सालबाट सुरु भएको हो । त्यति बेला उनले रेडियो नेपालद्वारा आयोजित राष्ट्रिय आधुनिक गायन प्रतियोगितामा प्रथम स्थान हासिल गरेका थिए । सन् २००५ मा पहिलो व्यावसायिक डेब्यु एल्बम ‘मोक्ष’ मार्फत सङ्गीत क्षेत्रमा प्रवेश गरेका उनले सोही एल्बमको लोक(आधुनिक फ्युजन गीत ‘फेवातालमा साइँली’ बाट व्यापक लोकप्रियता हासिल गरेका थिए ।
त्यसपछि उनका ‘पिउँदिनँ भन्दाभन्दै पिलायो साथीले’,‘धेरै चोटि मरेँ म त’, ‘कहाँ थियौ तिमी’, ‘क्या दामी भो’, ‘आँसुको अर्थ’ र ‘धोकेबाज हौ तिमी’ जस्ता गीत चर्चित बने । उनी थुप्रै नेपाली चलचित्रमा पार्श्व गायन गर्दै आएका लोकप्रिय गायक हुन् ।
परियारले सामाजिक सञ्जालमार्फत दर्शक, श्रोता, शुभेच्छुक, परिवार र साथीभाइप्रति पनि धन्यवाद व्यक्त गर्दै नेपाली सङ्गीतको सेवामा अझ जिम्मेवार भएर समर्पित रहने प्रतिबद्धता जनाएका छन् ।
उनले लेखेका छन्, ‘तिमी अर्कैको भइसक्यौँ’ गीतबाट यस वर्ष पनि ‘सर्वोत्कृष्ट आधुनिक गायक’ अवार्ड प्राप्त गर्न सफल भएको छु । यो सम्मान मेरो एक्लो उपलब्धि होइन । गीतलाई सफल बनाउन योगदान पुर्याउनुहुने शब्द तथा सङ्गीतका स्रष्टा आदरणीय वसन्त सापकोटा दाइ, सङ्गीत संयोजक सञ्जीव बराइली, ध्वनि मिश्रणकर्ता नरेश र भिडियो निर्देशक विवेक बिकेप्रति हार्दिक आभार व्यक्त गर्दछु ।







प्रतिक्रिया