मुख्य समाचार

नयाँ सरकार गठन भएयता नेप्से ३५० अङ्कले घट्यो

नयाँ सरकार गठन भएयता नेप्से ३५० अङ्कले घट्यो


बिर्तामोड – नेपालको शेयर बजार पछिल्लो ६ महिनायताकै न्यून विन्दुमा झरेको छ । अस्ति शुक्रवार नेप्से परिसूचक २६०० विन्दुमा बन्द भएको हो ।

नयाँ सरकार गठन भएयता नेप्से ३५० अङ्कले घटिसकेको छ । बालेन्द्र शाहको नेतृत्वमा सरकार बनेपछि लगानीकर्ताले शेयर बजार बढ्ने अपेक्षा गरे पनि त्यसको ठीक विपरीत बजार निरन्तर ओरालो लागिरहेको छ ।

सरकार गठन हुनुअघि चैत १२ गते नेप्से परिसूचक झन्डै २९५० विन्दुमा थियो । आउँदो आर्थिक वर्षको बजेटमा लगानीकर्ताले लामो समयदेखि माग गर्दै आएको पूँजीगत लाभकर अन्तिम कर बनाइए पनि बजारमा त्यसको सकारात्मक प्रभाव देखिएन ।

नेपाल शेयरधनी सङ्घका अध्यक्ष घनश्याम पाण्डेका अनुसार व्यवसायीहरूको धरपकडले लगानीकर्तामा अन्योल सिर्जना गरेको हो ।

त्यसैगरी राष्ट्र बैंकले ल्याएको मौद्रिक नीतिले पनि बजारलाई राहत दिन सकेन । मौद्रिक नीति सार्वजनिक भएयता ३ दिनको कारोबारमा नेप्से थप ५१ अङ्कले घटेको छ ।

पूर्वगभर्नर चिरञ्जीवी नेपालका अनुसार कर्जा विस्तारमा राष्ट्र बैंकले अपनाएको कडाइको प्रभाव बजारमा परेको हो । विज्ञहरूका अनुसार असार मसान्तको लेखाबन्दी र ब्रोकरहरूले लिमिट नदिएका कारण पनि बजारमा थप दबाव परेको छ । अहिले लगानीकर्ताहरू धितोपत्र बोर्डको प्रयास पर्खिरहेका छन् ।

शेयर गर्नुहोस :

54
Shares