प्रदीप परियार
बिर्तामोड । बिर्तामोड नगरपालिकाले वडा नं. ५ स्थित बुधबारे हटिया क्षेत्रमा ‘देवी ग्रिन पार्क’ बनाउने भएको छ । बिर्तामोडको नगरसभाले बुधबारे हटिया क्षेत्रलाई पार्क बनाउने निर्णय पारित गरेको हो ।
जग्गादाताको नाममा हरियाली पार्क बनाउने बिर्तामोड नगरप्रमुख पवित्रा महतारा प्रसाईले जानकारी दिनुभयो ।
‘देवी ग्रिन पार्क’ निर्माणको काम तत्कालै सुरु गर्ने नगरप्रमुख प्रसाईको भनाई छ । उहाँका अनुसार शितलता प्रदान गर्ने हरियाली पार्कको रुपमा सो ठाउँलाई विकास गरिने छ । पार्कमा मुक्तिचोकको स्तम्भ र जग्गादाताको स्तम्भ रहनेछ ।
बिर्तामोड नगरपालिकामा खुल्ला ठाउँको अभाव भइरहेको बेला नगरपालिकाले पार्क बनाउने निर्णय गरेको हो । पार्कमा ज्येष्ठ नागरिक चौतारी, बालकालिका खेल्ने ठाउँ, बसिबियाँलो गर्ने, गफ गर्ने आरामदायी ठाउँ बनाइने जनाइएको छ । एकैछिन फुर्सद हुँदा आनन्दले बस्ने ठाउँ नभएको बिर्तामोडमा पार्क बनाउने निर्णयलाई सकारात्मक रुपमा लिइएको छ । अर्को सातादेखि निर्माण सुरु गर्ने भनिएको पार्कको डिजाइनको काम अन्तिम चरणमा पुगेको छ ।
पार्किङसहित अधिकतम रुख, विरुवा, दुवोबाट सजावट गरिने हरियाली पार्क पूर्वकै आकर्षक र आनन्ददायी बनाइने जनाइएको छ ।

तीन वर्षअघि खाली गरिएको सो क्षेत्रमा बहुतले भवन बनाउने तयारी गरिएको थियो । नगर विकास कोषको लगानीमा व्यवसायिक भवन बनाउने तयारीसहित खाली गरिएको ठाउँमा नगरपालिकाले कमाउने भन्दा पनि नागरिकलाई पार्क बनाएर आनन्द दिने योजना अघि सारेको हो । बिर्तामोडमा कतै पनि बस्ने खुल्ला ठाउँ नभइरहेको बेला पार्क बनाउने खवरले बिर्तामोडबासीलाई उत्साहित बनाएको छ ।
नगरविकास कोषको लगानीले बन्ने भवनले व्यवसायी, नगरपालिका र नगरवासीलाई भन्दा कोषलाई मात्रै फाइदा पुग्ने भएपछि नगरपालिका भवन निर्माणबाट पछि हटेको थियो । नगर विकास कोषले लगानी गरेको ऋण तिर्न वर्षौ लाग्ने, भाडामा बस्ने व्यवसायीहरुलाई ठुलो भार हुने भएपछि नगरपालिका पक्षले कोषसँगको कामबाट बाहिरिएको थियो ।
बिर्तामोड – ५ का वडाध्यक्ष रोहित प्रसाईले पार्क बनाउँदा नगरवासीहरुलाई नै फाइदा पुग्ने बताउनुभयो । उहाँका अनुसार बिर्तामोडमा व्यवस्थित र हरियाली पार्कको खाँचो छ । एकछिन भीडभन्दा बाहिर कतै बसौभन्दा ठाउँ छैन, उनले भने – त्यो ठुलो ठाउँमा व्यवस्थित पार्क बनाएपछि धेरैको आराम गर्ने ठाउँ हुन्छ ।
तीन वर्षअघि बुधबारे हटियामा वर्षौंदेखि अव्यवस्थित रुपमा रहेको घरटहरा नगरपालिकाले जेसीबी लगाएर भत्काएको थियो ।
पटक–पटक नगरपालिकाले सूचना प्रकाशन गरेर खाली गरिदिन आग्रह गर्दा व्यवसायीहरुले नमानेपछि बल प्रयोग गरी घरटहरा भत्काइएको थियो । करिब २ सय व्यापारी घरटहरा भत्काएसँगै बाहिरिएका थिए । उनीहरुले ४ स्थानमा नयाँ मार्केट बनाएर व्यवसाय गर्दै आएका छन् । त्यो बेला नगरपालिकाले विकल्प नदिई टहरा भत्काएको भन्दै व्यवसायीहरुले आक्रोश पोखेका थिए ।
नगरपालिकाले ३५ दिनेसहित पटकपटक सूचना जारी गरी पसल तथा टहरा खाली गराउन निर्देशन दिएको थियो । समाजसेवी रामबाबु प्रसाईंले आफ्ना पिता स्व.देवीप्रसादको नाममा १ बिघा ३ कट्ठा जमिन साप्ताहिक हाट लगाउन तत्कालीन अनारमनी गाविसलाई निःशुल्क दान दिएका थिए । उक्त जमिनमा करिब चार दशकदेखि बिर्तामोड बुधबारे हटिया लाग्दै आएको थियो । विगत १५ वर्षदेखि त्यहाँ दैनिक बजार लाग्ने गरेको थियो ।
नगरपालिकाले २०७१ मा बुधबारे बजार व्यवस्थापन समितिको अगुवाइमा ७० वटा सटर निर्माण गरी भाडामा लगाएको थियो । करिब ५ कट्ठा जमिनमा ७० वटा सटर निर्माण गरिएका थिए । ती सटर पूर्वपट्टि करिब ६ कट्ठा जमिनमा स्थानीय व्यापारीले आफैं १ सय १० भन्दा बढी टहरा निर्माण गरी व्यवसाय गर्दै आएका थिए । ति सबै संरचना नगरपालिकाले हटाएर खाली गरेको थियो ।







प्रतिक्रिया