Banner news

बिर्तामोडका प्राविधिकलाई नगरप्रमुखको निर्देशन – खटाएको वडाबाट सेवा दिनु

बिर्तामोडका प्राविधिकलाई नगरप्रमुखको निर्देशन – खटाएको वडाबाट सेवा दिनु


बिर्तामोड । बिर्तामोड नगरपालिकाको आइतवार बसेको नगरसभामा प्राविधिकहरुले वडामा समय नदिएको गुनासो जोडदार रुपमा उठेको छ ।

बिर्तामोड नगरपालिका वडा नं. २ का सदस्य ओम गौतमले प्राविधिकहरु वडामा नबस्दा वडाबासीले दुख पाएको विषय सभामा उठाए । उनले नगरप्रमुख पवित्रा महतारा प्रसाईलाई प्राविधिहरुलाई वडामा बस्ने व्यवस्था मिलाउन आग्रह गरे ।

केही समयदेखि बिर्तामोड नगरपालिकाका प्राविधिकहरुलाई वडामा खटाए पनि वडामा नबसेको गुनासो आइरहेको छ । प्रमुख प्रशासकीय अधिकृत सागर मिश्रले प्राविधिकहरुलाई वडा–वडामा खटाएका थिए । अधिकांश वडाका प्राविधिकहरु नगरपालिकामै बसेर काम गर्दै आएको गुनासो छ ।

नगरसभामा वडा सदस्य गौतमले प्राविधिकको विषय उठाएपछि नगर प्रमुख प्रसाईले खटाइएको वडामा बसेर सेवा प्रवाह गर्न निर्देशन दिनुभयो । कर्मचारीले खटाएको ठाउँमा जानुपर्छ, उहाँले भन्नुभयो – यो गुनासो धेरै दिनदेखि आइरहेको छ । प्राविधिकलाई वडामा बस्न के कति कारणले समस्या छ, प्रमुख प्रशासकीय अधिकृतसँग आएर समस्या भए राख्नुहोस् । होइन भने वडामा बसेर सेवा दिनुहोस् ।

वडामा बसेर काम गर्न प्राविधिकहरुले अटेरी गरेपछि जनप्रतिनिधिहरुले चरम असन्तुष्टि जनाइरहेका छन् । प्राविधिहरुले समय नदिदाँ कतिपय योजनाको बजेट नै फ्रिज हुने अवस्था बनेको आरोप छ ।

वडा नं. २ मा खटाइएका प्राविधिक रमेश मगर वडामा बस्दैनन् । उनी नगरमै बसेर सेवा दिइरहेको स्वीकार गर्छन् । जेनजी आन्दोलनअघि वडामै बसेर सेवा दिए पनि अहिले फर्निचर, कोठा व्यवस्थापन लगायतका समस्याले नगरमै बसेर काम गरिरहेको मगरले जानकारी दिए । उनले वडामा बसेर काम गरेपनि वडाबासी नगरपालिका पुग्नैपर्ने बाध्यता भएकाले वडामा नबस्दा पनि कुनै फरक नपर्ने तर्क राखे । वडामा स्टमेट बनाए पनि नगरमै आएर हस्ताक्षर गराउनुपर्ने उनको भनाई छ ।

प्राविधिक मगरले नगरमा हाजिर गरेर वडासँगको समन्वयमा काम गर्दै आएको जानकारी दिए । कतिपय काम वडामा बसेर गर्न प्राविधिक हिसावले पनि असजिलो हुन्छ, उनले भने, हामीलाई ९–५ को समय सीमा हुँदैन । विहानैदेखि अवेरसम्म पनि काम गर्नुपर्ने हुन्छ । कामलाई प्राथमिकता नै दिइरहेको उनको दावी छ ।

बिर्तामोड नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मिश्रले एक वडा एक प्राविधिकको व्यवस्थापन गर्न जनशक्ति अभाव रहेको जानकारी दिए । उनले १० वडा वडा भएको नगरपालिकामा ८ वटा दरबन्दी भएकाले पनि व्यवस्थापन गर्न कठिन भएको बताए । अहिले पनि वडा नं ५ र ६ , वडा नं. ८ र १०, १/१ जना प्राविधिकले समय दिइरहेका छन् । दरवन्दी नै कम भएकाले एकै वडामा बसेर काम गर्न असहज भइरहेको मिश्रको भनाई छ ।

शेयर गर्नुहोस :

0
Shares