काठमाण्डाै – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रेस स्वतन्त्रतामाथिको कुनै पनि प्रकारको अतिक्रमण अस्वीकार्य रहेको जनाएको छ ।
आज बिहान कान्तिपुर पब्लिकेशन, अनलाइनखबरलगायत सञ्चारगृहका गेट अगाडि बेवारिसे गाडी पार्किङ गरी अवरोध सिर्जना गरिएको घटनापछि विज्ञप्ति निकालेर रास्वपाले यो प्रतिक्रिया जनाएको हो ।
पार्टीका महामन्त्री विपिनकुमार आचार्यले निकाल्नुभएको विज्ञप्तिमा यस्ता गतिविधि सञ्चारकर्मीलाई मनोवैज्ञानिक त्रासमा पार्ने उद्देश्यले गरिएको भन्दै लोकतान्त्रिक मूल्य–मान्यता विपरीत रहेको औँल्याइएको छ ।
रास्वपाले आफूलाई सधैँ पूर्ण प्रेस स्वतन्त्रता र स्वतन्त्र पत्रकारिताको पक्षमा उभिएको दल रहेको दाबी गर्दै यस्ता कदमको भर्त्सना गरेको छ ।
विज्ञप्तिमा नेपाल सरकार, गृह मन्त्रालय र सुरक्षा निकायलाई घटनाको तत्काल र निष्पक्ष छानबिन गरी दोषी पहिचान गर्न र सञ्चारमाध्यमको सुरक्षा सुनिश्चित गर्न आग्रह गरिएको छ ।
साथै सम्पूर्ण सञ्चार जगतलाई त्रास नमानी पेशा निर्वाह गर्न अपील गर्दै सञ्चारकर्मीको सुरक्षामा सधैँ खडा रहने प्रतिबद्धता रास्वपाले दोहोर्याएको छ ।







प्रतिक्रिया