Banner news

प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप अस्वीकार्य : कांग्रेस

प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप अस्वीकार्य : कांग्रेस


काठमाडौँ  । नेपाली कांग्रेसले सभापति गगनकुमार थापाको निजी निवास,  मिडिया हाउसको प्रवेशद्वार तथा व्यवसायीहरूको नियमित आवागमन हुने कार्यक्षेत्रमा अपरिचित व्यक्तिहरूले सवारीसाधन तेर्स्याएर आवागमन अवरुद्ध गरेको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

पार्टीका महामन्त्री प्रदीप पौडेलद्वारा सोमबार जारी विज्ञप्तिमा उक्त घटनालाई स्वतन्त्र अभिव्यक्ति र लोकतान्त्रिक गतिविधिलाई त्रसित बनाउने कुत्सित मनसायबाट प्रेरित नियोजित घटना भएको ठहर गरिएको छ ।

यस्ता गतिविधि लोकतान्त्रिक मूल्य, विधिको शासन र नागरिक स्वतन्त्रतामाथिको गम्भीर प्रहार भएको कांग्रेसको भनाइ छ ।कांग्रेसले उक्त घटनाको घोर निन्दा तथा भर्त्सना गर्दै निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनबमोजिम कारबाही गर्न सरकारसँग माग गरेको छ।

साथै लोकतन्त्र, प्रेस स्वतन्त्रता र नागरिक अधिकारको संरक्षणका लागि सम्पूर्ण लोकतन्त्रवादी शक्ति, सञ्चारजगत्, नागरिक समाज तथा आम नागरिकलाई यस्ता अलोकतान्त्रिक गतिविधिविरुद्ध एकजुट भई सशक्त प्रतिवाद गर्न आह्वान गरेको छ।

शेयर गर्नुहोस :

0
Shares