बिर्तामोड । अर्जुनधारा नगर खेलकुद विकास समितिले फुटबलर देवेन्द्र तामाङसहित पाँच विधाका खेलाडीलाई सम्मान गरेको छ ।
सोमवार नगर सभाहलमा आयोजित कार्यक्रममा उनीहरुलाई नगदसहित सम्मान गरिएको हो । खेलकुदको माध्यमबाट अर्जुनधारा नगरपालिकाको नाम, प्रतिष्ठा र पहिचानलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरसम्म पु¥याउन सफल उनीहरुको योगदानको कदर गर्दै सम्मान गरिएको आयोजक अर्जुनधारा नगर खेलकुद विकास समितिका अध्यक्ष सुरेन्द्र धिमालले बताए ।

सम्मानित हुनेहरुमा अन्तर्राष्ट्रिय कराते खेलाडी तथा प्रशिक्षक विक्रम मेचे, क्रिकेट खेलका आइसीसी लेभल वान कोच तथा अम्पायर बिनित बाँस्तोला, तेक्वान्दो खेलका अन्तर्राष्ट्रिय रेफ्री तथा प्रशिक्षक लक्ष्मी राजवंशी, राष्ट्रिय उसु निर्णायक तथा प्रशिक्षक पूजा खवास र पूर्व अन्तरराष्ट्रिय फुटबल खेलाडी देवेन्द्र तामाङ रहेका छन् । अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेवसिंह गोम्देन तामाङको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा उनीहरुलाई सम्मानपत्र, नगद पुरस्कार जनही २१ हजारसहित दोसल्ला ओढाई सम्मानित गरिएको थियो । कार्यक्रममा नगरपालिकाकी उपप्रमुख खड्गमाया पराजुली, वडाध्यक्षत्रय खगेन्द्र इङनाम, सीताराम भट्टराई र हरिशचन्द्र बाँस्तोला, झापा जिल्ला फुटबल संघका अध्यक्ष भगिरथ आले ‘मामा’ लगायतले पुरस्कार प्रदान गरेका थिए ।

सोही कार्यक्रममा गतवर्ष सम्पन्न १६ औं राष्ट्रपति रनिङ शिल्ड खेलकुदको जिल्लास्तरीय प्रतियोगिता–२०८२ का २२ स्वर्ण पदकधारी, ५ रजत पदकधारी र १४ कास्य पदकधारी खेलाडीहरुलाई नगद पुरस्कार क्रमशः दुई हजार, १५ सय र एक हजारबाट पुरस्कृत गरिएको थियो । समितिका सदस्य तिलक योञ्जनले स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन सदस्य सचिव खगेन्द्र लिङदेनले गरेका थिए ।







प्रतिक्रिया