नगरपालिकाले १५ दिन समय थप्ने
बिर्तामोड । बिर्तामोड नगरपालिकाले सडकको क्षेत्राधिकारभित्र पर्ने अनाधिकृत संरचनाहरू हटाउन दिएको समय असार मसान्तमा सकिदैछ । नगरपालिकाले गत जेठ २७ गते सूचना प्रकाशन गरेर अनाधिकृत संरचनाहरु हटाउन भनेको थियो ।
३५ दिनभित्र हटाउन निर्देशन दिएपनि अनाधिकृत संरचनाहरु हटाउन सम्बन्धित पक्षले चासो दिइरहेको छैन । एकाघर परिवारले नगरपालिकाले गरेको रेखाङकनका आधारमा घर भत्काइरहे पनि उल्लेख्य मात्रामा परिणाम देखिएको छैन । नगरको म्याद अन्तिम चरणमा पुग्दै गर्दा सम्बन्धित पक्षहरु पर्ख र हेरको अवस्थामा छन् । विगतमा जस्तै सूचना निकाल्ने र चुप बस्ने आशामा बसेका सम्बन्धित घरधनीहरु विरुद्ध नगरपालिका आक्रामक रुपमा प्रस्तुत भइरहेको छ ।

बिर्तामोड नगरपालिकाको रेखाङकनका आधारमा ६२ वटा आरसीसी भवन र १ सय टहरासडक क्षेत्रभित्र पर्ने देखिएको छ । ति सबै अनाधिकृत संरचना हटाएर नगरपालिकाले सार्वजनिक सडकको संरक्षण गर्ने योजना अघि सारेको हो ।
सडकको बीच भागबाट दायाँ बायाँ १५–१५ मिटर सडक क्षेत्रभित्र निर्माण गरिएका घर टहरा भत्काउनका लागि
नगरपालिकाले समयसीमा तोकेको थियो । पटक–पटक समय तोक्दै आएको नगरपालिकाले यो पटक अनाधिकृत संरचना भत्काएरै छोड्ने तयारी गरेको छ ।
बिर्तामोड नगरपालिकाका नगर प्रमुख पवित्रा महतारा प्रसाइले अनाधिकृत संरचना हटाइने जानकारी दिनुभयो । उहाँका अनुसार यो महिनाको अन्तिममा ३५ दिनको अवधि सकिदैछ । त्यसपछि थप १५ दिनको समय दिइने छ । आवश्यक प्रक्रिया पूरा गर्न ३५ दिनपछि थप १५ दिनको समय दिनेछौं, त्यो समयभित्र पनि अनाधिकृत संरचना नहटाएर बाँकी प्रक्रिया अघि बढाइने छ, आइतवार नगरसभामा नगर प्रमुख प्रसाईले भन्नुभयो ।
अनाधिकृत संरचनाहरु हटाउन बिर्तामोड – ५ महानन्द चोकदेखि भद्रपुरको सिमाना बिर्तामोड – ८ को देउनियासम्म चिह्न लगाउने कार्य यसअघि नै सम्पन्न भइसकेको छ । केही घरधनीहरुले आफ्ना संरचनाहरु हटाएर मर्मत कार्य गरिरहेका छन् ।
नगरपालिकाको सूचना अनुसार नहटाए कानुन बमोजिम भत्काइने र त्यसको खर्च समेत सम्बन्धित पक्षबाटै असुल गरिने चेतावनी दिएको छ । गत बैशाख १६ गतेको बैठकको निर्णय अनुसार सडकको क्षेत्राधिकारभित्रका अनाधिकृत संरचना हटाउन प्राविधिकहरुले रेखाङकन गरेका थिए ।
नगर उपप्रमुख नगेन्द्र संग्रौलाले अनाधिकृत संरचना भएका घरधनीहरुले आफै भत्काउनु राम्रो हुने प्रतिक्रिया दिनुभएको छ । आफ्नो घर संरचना सुरक्षित रुपमा भत्काएमा पुनःप्रयोग गर्न मिल्ने उहाँको धारणा छ ।
बिर्तामोड उद्योग वाणिज्य संघका महासचिव कुशल खतिवडाले अनाधिकृत संरचनाहरु हटाउने सन्दर्भमा व्यवसायीहरु सकारात्मक भएको बताउनुभयो । उहाँका अनुसार व्यवसायीहरु सहित नगरपालिकामा मेयर, उपमेयरलाई भेटेर वर्खायाम र दशैंतिहार अघि व्यवसाय प्रभावित नबनाउन आग्रह गरिएको छ ।
व्यवसायीहरुले वाणिज्य संघमा पुगेर आफ्ना समस्या सुनाएपछि संघको टोली डेलिगेशन लिएर नगरपालिका पुगेको थियो । सो क्रममा छठ पर्वभन्दा अगाडि संरचना हटाउने काम नगर्न सूझाव दिइएको थियो ।
३५ दिन व्यवसायीहरुका लागि पर्याप्त होइन, महासचिव खतिवडाले भन्नुभयो – हामीले दशैंतिहार पछि संरचना हटाउन भनेको छौं । त्यो समयमा हामी आफै पनि सहयोग गर्छौ ।







प्रतिक्रिया