काठमाडौं । नेपाल आयल निगमले भोलि (असार ३१ गते)देखि देशभर पुनः १४.२ केजी एलपी ग्यास भरिएको सिलिन्डर बिक्री–वितरण गर्ने निर्णय गरेको छ।
निगमले सोमबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार भारतबाट एलपी ग्यासको आपूर्ति तथा लोडिङमा सुधार भएको र उपभोक्ताबाट १४.२ केजी ग्यासको उच्च माग रहेको अवस्थालाई ध्यानमा राख्दै साविककै परिमाणमा ग्यास उपलब्ध गराउने व्यवस्था मिलाइएको हो।
यससँगै १४.२ केजी ग्यास भरिएको सिलिन्डर रु. २,०६० मा बिक्री–वितरण हुनेछ। यसअघि निगमले आपूर्ति व्यवस्थापनका लागि २०८२ फागुन २९ गतेदेखि अर्को निर्णय नभएसम्म ७.१ केजी ग्यास मात्रै भरेर बिक्री गर्ने व्यवस्था लागू गरेको थियो।
निगमका अनुसार केही समयसम्म बजारमा ७.१ केजी र १४.२ केजी दुवै प्रकारका सिलिन्डर बिक्री–वितरण हुन सक्ने भएकाले उपभोक्ताले ग्यास खरिद गर्दा सिलिन्डरको तौल र मूल्य यकिन गरेर मात्र खरिद गर्न आग्रह गरिएको छ।
निगमले हाल इन्डियन आयल कर्पोरेशनबाट नियमित रूपमा एलपी ग्यास आयात भइरहेको जनाएको छ। त्यसैले आवश्यकताअनुसार मात्र ग्यास खरिद गर्न र अनावश्यक रूपमा भण्डारण नगर्न पनि उपभोक्तासँग अनुरोध गरेको छ।







प्रतिक्रिया