Banner news

सुर्योदय आधारभूत विद्यालयलाई २३ लाख ५० हजार रुपैयाँ बराबरको ई–भ्यान

सुर्योदय आधारभूत विद्यालयलाई २३ लाख ५० हजार रुपैयाँ बराबरको ई–भ्यान


शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिकाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि तथा ‘स्मार्ट विद्यालय’ अवधारणालाई प्रभावकारी बनाउने उद्देश्यका साथ सुर्योदय आधारभूत विद्यालयलाई २३ लाख ५० हजार रुपैयाँ बराबरको इलेक्ट्रोनिक भ्यान (ई–भ्यान) प्रदान गरेको छ ।

नगरपालिकाको परिसरमा आयोजित कार्यक्रममा नगरप्रमुख मेगाहाङ्ग थोप्रा, उपप्रमुख नरमाया कार्की र प्रमुख प्रशासकीय अधिकृत सुनिता तुम्बाङफेले संयुक्त रुपमा वडा नं. ५ स्थित सुर्योदय आधारभूत विद्यालयकी प्रधानाध्यापक सुभद्रा दुलाल कोइराला र पूर्व प्र.अ.जगतविर लिम्बुलाई ई–भ्यानको साँचो हस्तान्तरण गर्नुभयो ।

विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई विद्यालयसम्म सुरक्षित, सहज र नियमित आवतजावतको सुविधा उपलब्ध गराउने उद्देश्यले नगरपालिकाको ‘स्मार्ट विद्यालय निर्माण’ कार्यक्रमअन्तर्गत उक्त ई–भ्यान खरिद गरिएको हो ।

नगर शिक्षा शाखाका प्रमुख छवि ढकालका अनुसार ई–भ्यान खरिदका लागि शिवसताक्षी नगरपालिकाले १० लाख रुपैयाँ, वडा नं. ५ कार्यालयले १० लाख रुपैयाँ र विद्यालयले ३ लाख ५० हजार रुपैयाँ लागत साझेदारी गरेका हुन् । यसरी कुल २३ लाख ५० हजार रुपैयाँको लागतमा ई–भ्यान विद्यालयलाई उपलब्ध गराइएको उहाँले जानकारी दिनुभयो ।

कार्यक्रममा नगरपालिकाले अन्य सामुदायिक विद्यालयहरूलाई पनि सूचना तथा सञ्चार प्रविधिसम्बन्धी सामग्री हस्तान्तरण गरेको छ । सोही क्रममा श्री राष्ट्रिय रमणीय आदर्श माध्यमिक विद्यालयलाई ५ थान डेक्टप कम्युटर, भानु माध्यमिक विद्यायल पाराबारीलाई १ थान ल्यापटप, ३ थान डेस्कटप कम्प्युटर र १ थान प्रिन्टर प्रदान गरिएको छ। त्यस्तै बालनिकुञ्ज माध्यमिक विद्यालयलाई १ थान ल्यापटप, ३ थान डेस्कटप कम्प्युटर र १ थान स्मार्ट टिभी तथा भगवती माध्यमिक विद्यालय, व्याङ्गडाँडालाई १ थान स्मार्ट टिभी हस्तान्तरण गरिएको नगरपालिकाले जनाएको छ ।

सामग्री हस्तान्तरण कार्यक्रममा बोल्दै नगरप्रमुख मेगाहाङ्ग थोप्राले सामुदायिक विद्यालयलाई गुणस्तरीय, प्रविधिमैत्री र प्रतिस्पर्धी बनाउन नगरपालिकाले विगतदेखि निरन्तर लगानी गर्दै आएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “शिवसताक्षी नगरपालिकाले अघि सारेको ‘स्मार्ट विद्यालय’ अवधारणाले छोटो समयमै सकारात्मक परिणाम देखाउन थालेको छ । विद्यालयमा प्रविधिको पहुँच विस्तार भएसँगै शिक्षण–सिकाइ थप प्रभावकारी बन्दै गएको छ। शिक्षक, विद्यालय व्यवस्थापन समिति, अभिभावक र वडा कार्यालयबीचको सहकार्यलाई अझ सुदृढ गर्दै गुणस्तरीय शिक्षाको वातावरण निर्माण गर्न सबैले हातेमालो गर्न आवश्यक छ ।”

उहाँले प्रविधिसँगै विद्यालयको भौतिक पूर्वाधार विकासमा समेत नगरपालिकाले प्राथमिकता दिएको उल्लेख गर्दै यसबाट विद्यार्थीहरूले आधुनिक र गुणस्तरीय शिक्षा प्राप्त गर्ने विश्वास व्यक्त गर्नुभयो ।

सुर्योदय आधारभूत विद्यालयकी प्रधानाध्यापक सुभद्रा दुलाल कोइरालाले विद्यालयलाई ई–भ्यान उपलब्ध गराएकोमा शिवसताक्षी नगरपालिका र वडा नं. ५ कार्यालयप्रति आभार व्यक्त गर्नुभयो। उहाँले भ्यानले विशेष गरी टाढाबाट आउने विद्यार्थीहरूको नियमित उपस्थितिमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गर्नुभयो ।

इता, राष्ट्रिय रमणीय आदर्श माध्यमिक विद्यालयका प्रधानाध्यापक गिरीराज सेर्माले विद्यालयमा रहेका केही पुराना डेस्कटप कम्प्युटर प्रयोग गर्न नसकिने अवस्थामा रहेको बताउँदै नगरपालिकाबाट प्राप्त नयाँ कम्प्युटरपछि विद्यालयमा कुल १३ वटा कम्प्युटर सञ्चालनमा आउने जानकारी दिनुभयो । यसले विद्यार्थीहरूको कम्प्युटर शिक्षालाई थप सहज, प्रभावकारी र व्यवहारिक बनाउने उहाँको भनाइ थियो ।

नगर शिक्षा शाखाका प्रमुख छवि ढकालका अनुसार आर्थिक वर्ष २०८२-०८३ मा ‘स्मार्ट विद्यालय निर्माण’ कार्यक्रमअन्तर्गत प्रविधि हस्तान्तरणका लागि ५९ लाख ७ हजार रुपैयाँ खर्च गरिएको छ । केही सामग्री यस कार्यक्रममार्फत हस्तान्तरण गरिएको र बाँकी सामग्री नगरमा आइपुगेपछि अन्य विद्यालयहरूलाई पनि क्रमशः वितरण गरिने उहाँले जानकारी दिनुभयो ।

उहाँका अनुसार यही कार्यक्रमअन्तर्गत बालसेवा माध्यमिक विद्यालय, भगवती माध्यमिक विद्यालय, बालनिकुञ्ज माध्यमिक विद्यालय, लालपानी माध्यमिक विद्यालय, लक्ष्मीनारायण माध्यमिक विद्यालय तथा झिलझिले माध्यमिक विद्यालयलगायतका विद्यालयमा कक्षाकोठा निर्माण सम्पन्न भइसकेको छ । आगामी दिनमा प्रविधि विस्तारसँगै विद्यालयहरूको भौतिक तथा शैक्षिक पूर्वाधार विकासलाई अझ तीव्रता दिइने नगरपालिकाको योजना रहेको छ ।

कार्यक्रममा नगर उपप्रमुख नरमाया कार्की, प्रमुख प्रशासकीय अधिकृत सुनिता तुम्बाहाङ्फे, लेखा शाखा प्रमुख प्रकाश योङ्हाङ,वडा नं. ५ का वडाध्यक्ष सिकिन पासवान लगायत शिक्षकहरूको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन नगर शिक्षा शाखाका प्रमुख छवि ढकालले गर्नुभएको थियो ।

शेयर गर्नुहोस :

0
Shares