बिर्तामोड । जलवायु परिवर्तनको बढ्दो असरबारे समुदायलाई सचेत गराउँदै युवालाई वातावरण संरक्षण अभियानमा सक्रिय बनाउने उद्देश्यले झापाको गौरादहमा ‘क्लाइमेट जस्टिस अवेयरनेस : फ्रम स्ट्रिट टु एक्सन’ अभियान सम्पन्न भएको छ ।
गौरादह बजार क्षेत्रमा बुधबार आयोजित सचेतनामूलक कार्यक्रमको आयोजना दीगो विकास इन्स्टिच्युट र सीजेएआई एलुम्नाई–२०२६ ले गरेका थिए । एनवाईसीए, लियो क्लब अफ गौरादह, आईएएएस एल सी,एनटीएससी, वाईसीएसए र सानको सहआयोजना रहेको थियो ।

अभियानअन्तर्गत फ्ल्यास मोब, सडक नाटक तथा सचेतनामूलक ¥यालीमार्फत जलवायु न्याय, वातावरण संरक्षण र दीगो विकाससम्बन्धी सन्देश प्रवाह गरिएको थियो । सडक नाटकमा अनियन्त्रित प्लास्टिक प्रयोग, फोहोर व्यवस्थापनको समस्या, वन विनाश तथा जलवायु परिवर्तनका कारण मानव जीवन, कृषि र जैविक विविधतामा परिरहेको नकारात्मक प्रभावलाई जीवन्त रूपमा प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा सहभागी युवाहरूले जलवायु परिवर्तन विश्वव्यापी चुनौती भए पनि यसको प्रभाव स्थानीय समुदायले प्रत्यक्ष रूपमा भोगिरहेको उल्लेख गर्दै यसको समाधानका लागि स्थानीय तह, शैक्षिक संस्था, नागरिक समाज र युवाबीच समन्वय र सहकार्य अपरिहार्य रहेको धारणा राखेका थिए ।
¥यालीका सहभागीहरूले वातावरणमैत्री जीवनशैली अपनाउन, प्लास्टिकजन्य फोहोरको प्रयोग न्यूनीकरण गर्न, वृक्षारोपणलाई अभियानका रूपमा अघि बढाउन तथा प्राकृतिक स्रोत–साधनको संरक्षणमा सबै पक्ष जिम्मेवार बन्नुपर्ने सन्देश दिएका थिए ।

आयोजकका अनुसार ‘सडकबाट कार्यमा’ भन्ने नारासहित सञ्चालन गरिएको अभियानको उद्देश्य जलवायु न्यायको अवधारणालाई समुदायस्तरसम्म पु¥याउँदै युवालाई वातावरणीय नेतृत्वका लागि प्रेरित गर्नु हो । कार्यक्रमले जलवायु परिवर्तनका चुनौती सामना गर्न जनचेतना अभिवृद्धिसँगै सामूहिक पहल आवश्यक रहेको सन्देश दिएको आयोजकको भनाइ छ ।
कार्यक्रममा विभिन्न शैक्षिक संस्था, सामाजिक संघसंस्था, युवा तथा स्थानीयवासीको उल्लेखनीय सहभागिता रहेको थियो ।







प्रतिक्रिया