बिर्तामोड । झापाको तीब्र विकसित शहर बिर्तामोडमा बसाईसराई आउनेहरुको संख्या वर्षेनी वृद्धि भइरहेका छ । वितेको आर्थिक वर्ष ०७८–७९ देखि चालु वर्षको जेठ मसान्तसम्म १३ हजार ९ सय १८ जना बसाईसरेर आएको तथ्याङक छ ।
बिर्तामोड नगरपालिकामा दर्ता भएको विवरण अनुसार ०७८–७९ मा ११४२ परिवारका ३७२९ सदस्य बिर्तामोड आएका थिए । ०७८ देखि चालु वर्षको जेठ मसान्तसम्म ५ हजार १ सय ५४ जना बसाईसरेर अन्यत्र गएका छन् । वितेको पाँच वर्षमा बसाईसराई सरेर जानेको संख्या घटाउँदा बिर्तामोड नगरपालिकामा ८ हजार ७ सय ६४ जनाको संख्या वृद्धि भएको पाइन्छ ।
यस्तै, आर्थिक वर्ष ०७८ –७९ मा सबैभन्दा धेरै बसाई बिर्तामोड वडा नं. ५ मा आएका छन् । २२३ परिवार बसाई आउँदा ७९ परिवार अन्यत्र गएका छन् । बिर्तामोड नगरपालिकाको तथ्याङक अनुसार वडा नं. ९ मा सबैभन्दा कम बसाई आएका छन् । सबैभन्दा कम बसाई जानेमा पनि उक्त वर्ष वडा नं. ९ नै रहेको छ ।
बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले बिर्तामोड सुविधा सम्पन्न, सुगम भएका कारण बसाईसराई आउनेको संख्या बढिरहेको जानकारी दिए । उनले बिर्तामोडमा गुणस्तरीय शिक्षा र स्वास्थ्य सुविधाले बसाईसराई आउनेको संख्या वृद्धि भएको हो । उनले यहाँको विकास निर्माणमा बसाईसराईले समेत प्रभाव पार्ने बताए ।
उपप्रमुख संग्रौलाका अनुसार बसाईसराई आउनेहरु सडक पूर्वाधार, विजुली र पानीको सुविधा नभएको ठाउँमा पनि बस्न सक्छन् । उनीहरुलाई सामान्य आवतजावतका लागि ग्राभेल, विजुलीको व्यवस्थापन मिलाउनुपर्छ । बसाई सरेर आउनेहरुका कारण भौतिक पूर्वाधार निर्माण पनि बढ्ने उनको भनाई छ । उनले भने, बसाईसराईलाई स्वभाविक प्रक्रिया भएको मान्यता राखेका कारण नीति कार्यक्रममा बसाईसराई प्राथमिकतामा पर्न सकिरहेको छैन ।
बिर्तामोडमा सबैभन्दा धेरै बसाई आउने वडा नं. ५ का वडाध्यक्ष रोहित प्रसाईले काठमाडौंमा जस्तै कुनै मापदण्ड तयार गर्न आवश्यक रहेको प्रतिक्रिया दिएका छन् । बसाईसराई जानेहरुलाई काठमाडौंमा अनिवार्य जग्गा हुनुपर्ने भनिएको छ, त्यस्तै कुनै मापदण्ड नबनाउने हो भने भविष्यमा अस्तव्यस्त बन्न सक्ने उनको धारणा छ ।
अध्यक्ष प्रसाई भन्छन्, बसाईसराई आउनेहरुको संख्या वृद्धि हुँदा वडा कार्यालयमा समेत समस्या छ । सेवाग्राहीको ठुलो चाप छ, कार्यालय सानो छ । उनका अनुसार स्वास्थ्य चौकीमा समेत बसाईसराईको असर देखिन थालेको छ । स्वास्थ्य चौकीको पूर्वाधारले धान्ने अवस्था छैन, उनले थपे । बसाईसराईका कारण मतदातासमेत वृद्धि भएको बताउदै वडाध्यक्ष प्रसाईले मतदान केन्द्र समेत अपुग हुने अवस्था रहेको जानकारी दिए । वडा नं. ५ मा देवी माविमा मात्रै मतदान केन्द्र छ ।







प्रतिक्रिया