झिलझिले । शिवसताक्षी उद्योग वाणिज्य संघले नयाँ अध्याय सुरु गरेको छ । तत्कालीन सतासीधाम उद्योग वाणिज्य संघ र शिवगञ्ज उद्योग वाणिज्य संघ एकीकरण भएर बनेको संघमा पहिलोपटक सर्वसम्मत रूपमा नयाँ नेतृत्व चयन गर्दै अध्यायको सुरुवात गरेको हो ।
व्यवसायिक संस्थामा सहमतिको संस्कृति स्थापित गर्दै सम्पूर्ण पदाधिकारी तथा सदस्य निर्विरोध चयन भएपछि यसलाई शिवसताक्षी मात्र होइन, झापाको उद्योग–व्यापार क्षेत्रकै एउटा उल्लेखनीय घटनाका रूपमा हेरिएको छ ।

निर्धारित निर्वाचन कार्यतालिकाअनुसार शनिबार निर्वाचन समितिले सम्पूर्ण प्रक्रिया पूरा गरी निर्वाचित पदाधिकारी तथा सदस्यहरूको नामावली सार्वजनिक गरेको थियो । सबै पदमा एकल उम्मेदवारी परेपछि मतदानको आवश्यकता नै नपरेको निर्वाचन समितिले जनाएको छ । समितिका अनुसार सम्पूर्ण नेतृत्व निर्विरोध चयन भयो ।
नयाँ नेतृत्वअनुसार संघको अध्यक्षमा स्थापित व्यवसायी अग्निप्रसाद दुलाल सर्वसम्मत निर्वाचित भएका छन् । वरिष्ठ उपाध्यक्षमा भोजराज ढकाल, उद्योग उपाध्यक्षमा सुबोधकुमार शाह, वाणिज्य उपाध्यक्षमा तेजनाथ घिमिरे, महासचिवमा विनोद सापकोटा, उद्योग सचिवमा कमल विक, वाणिज्य सचिवमा जितेन्द्रकुमार शाह तथा कोषाध्यक्षमा खनिमाया श्रेष्ठ चयन भएका छन् ।
त्यसैगरी खुला सदस्यमा मनबहादुर श्रेष्ठ, युवराज थापा, अशोक बस्नेत, लीलाबहादुर जोशी, प्रेमध्वज जबेगु र धनकुमार ढकाल तथा महिला सदस्यमा सीता बास्कोटा र सरस्वता श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् ।
निर्वाचन समितिका संयोजक सुमन काफ्लेले विधान र निर्वाचन कार्यतालिकाअनुसार सम्पूर्ण प्रक्रिया निष्पक्ष र विधिसम्मत रूपमा सम्पन्न भएको जानकारी दिए ।
निवर्तमान अध्यक्ष यामनाथ काफ्लेले दुई संस्थाको एकीकरणपछि पहिलोपटक सर्वसम्मत नेतृत्व चयन हुनु संघको परिपक्वता र व्यवसायीबीचको एकताको प्रमाण भएको बताए। उनका अनुसार नयाँ नेतृत्वले उद्योगी–व्यवसायीका साझा हितलाई केन्द्रमा राख्दै नगरको आर्थिक विकासमा प्रभावकारी भूमिका खेल्नेछ ।
को हुन् अध्यक्ष अग्निप्रसाद दुलाल ?
संघको नेतृत्व सम्हाल्ने जिम्मेवारी पाएका अग्निप्रसाद दुलाल शिवसताक्षी नगरपालिका–११, दुधेका स्थापित हार्डवेयर व्यवसायी हुन् । लामो समयदेखि व्यवसायमा सक्रिय उनी इमान्दार, कर्तव्यनिष्ठ र शालीन व्यवसायीका रूपमा परिचित छन् । व्यवसायसँगै सामाजिक क्षेत्रमा पनि उत्तिकै सक्रिय दुलालले लायन्स क्लब अफ शिवसताक्षीको अध्यक्षको जिम्मेवारी सफलतापूर्वक निर्वाह गरिसकेका छन् ।
नेपालका विभिन्न जिल्लासहित आधा दर्जनभन्दा बढी मुलुकको भ्रमणबाट प्राप्त व्यवसायिक अनुभवलाई स्थानीय उद्योग, व्यापार र उद्यम विकासमा उपयोग गर्ने सोच उनको छ ।
स्थानीय व्यवसायीका अनुसार दुलाल नगरका अग्रणी व्यवसायीमध्ये एक हुन्, जसले व्यवसाय विस्तार, रोजगारी सिर्जना र स्थानीय अर्थतन्त्रमा उल्लेखनीय योगदान पु¥याएका छन् ।
व्यवसायीको अपेक्षा : अब संघ अझ प्रभावकारी बनोस्
सर्वसम्मत रूपमा नेतृत्व चयन भएपछि उद्योगी–व्यवसायीहरूले नयाँ कार्यसमितिबाट निजी क्षेत्रका समस्या समाधान, लगानीमैत्री वातावरण निर्माण, व्यवसायिक अधिकारको संरक्षण, उद्यमशीलताको विकास तथा नगरको समग्र आर्थिक गतिविधिलाई थप गतिशील बनाउने अपेक्षा गरेका छन् ।
व्यवसायिक क्षेत्रका जानकारहरूका अनुसार झापा जिल्लामा रहेका उद्योग वाणिज्य संघमध्ये सर्वसम्मत प्रक्रियाबाट नेतृत्व चयन भएको यो सम्भवतः पहिलो घटना हो । यदि यो तथ्य पुष्टि भएमा शिवसताक्षी उद्योग वाणिज्य संघले जिल्लाको व्यवसायिक इतिहासमा सहमति र एकताको नयाँ उदाहरण स्थापित गरेको मानिनेछ ।







प्रतिक्रिया