बिर्तामोड – झापाको बिर्तामोडस्थित पातालगंगा बचत तथा ऋण सहकारी संस्थाको दुई करोड रुपैयाँभन्दा बढी रकम हिनामिना गरेको अभियोगमा झापा जिल्ला अदालतले एकै परिवारका पाँच जनालाई कैद र जरिवानाको सजाय सुनाएको छ।
अदालतले सहकारीको रकम अपचलनमा संलग्न रहेको ठहर गर्दै संस्थाका तत्कालीन अध्यक्ष तथा व्यवस्थापक रेवती खनालसहित उनका परिवारका चार सदस्यलाई दोषी ठहर गरेको हो। यो फैसला गत वर्ष नै भइसकेको भए तापनि यसको पूर्णपाठ भने भर्खरै मात्र सार्वजनिक भएको छ।

जिल्ला अदालत झापाका न्यायाधीश उमेशप्रसाद लुइँटेलको इजलासले सहकारी ऐन, २०७४ अन्तर्गत पूर्वअध्यक्ष एवं व्यवस्थापक खनाललाई मुख्य दोषी ठहर गर्दै ६ वर्ष कैद सजाय सुनाएको छ। यसका साथै उनलाई १ करोड ३७ लाख ८२ हजार ३५२ रुपैयाँ ८४ पैसा जरिवाना, सोही बराबरको बिगो भराउने र अपराध पीडित संरक्षण कोषमा ५ लाख ५१ हजार २९५ रुपैयाँ थप रकम बुझाउनसमेत आदेश दिएको छ।
खनालले पदीय हैसियतको दुरुपयोग गरी सञ्चालक समितिको अनुमतिबिना आफ्ना नजिकका आफन्तका नाममा बिना धितो ऋण प्रवाह गरेर रकम अपचलन गरेको पुष्टि भएपछि अदालतले उनका परिवारका सदस्यहरूलाई पनि सजाय सुनाएको हो।
सजाय पाउने अन्य सदस्यहरूमा खनालकी श्रीमती कमलादेवी भट्टराई खनाल, भाइ सिताराम खनाल, बहिनी गोमा खनाल भण्डारी र मामाससुरा अनन्तजीवन लुइँटेल रहेका छन्। अदालतले उनीहरू चारै जनालाई सहकारीको रकम हानी-नोक्सानी पुर्याएको अभियोगमा दोषी ठहर गर्दै जनही २ वर्ष कैद र १७ लाख ६ हजार ५०६ रुपैयाँ जरिवानाको सजाय सुनाएको छ। उनीहरूलाई जनही सोही बराबरको बिगो भराउने तथा ६८ हजार २६० रुपैयाँका दरले अपराध पीडित संरक्षण कोषमा रकम जम्मा गर्न पनि अदालतले आदेश दिएको छ।
वि.सं. २०६५ मा अनारमनी–३, झापामा दर्ता भएको यस सहकारीमा खनाल २०६९ सालदेखि लेखा संयोजकका रूपमा प्रवेश गरेका थिए र पछि २०७१ साल असोज ५ गतेदेखि उनी अध्यक्षसँगै व्यवस्थापक प्रमुखको जिम्मेवारीमा आएका थिए। अदालतको निष्कर्षअनुसार खनालले २०७१ देखि २०७८ सालसम्ममा नक्कली ऋणी खडा गरी संस्थाबाट १ करोड ५४ लाख ८२ हजार १८ रुपैयाँ हिनामिना गरेका थिए। उनले सञ्चालक समितिको मञ्जुरीबिना २०७७ असार ३१ गते आफ्नी श्रीमती, भाइ, बहिनी र मामाससुराको नाममा जनही १५ लाख रुपैयाँ ऋण देखाएर सो रकम आफैं प्रयोग गरेका थिए।
यसरी ऋणीहरूले बुझाएको अन्य रकमसमेत गरी कुल २ करोड ६ लाख ८ हजार ३८३ रुपैयाँ अपचलन भएको अदालतको ठहर छ। संस्थाको आर्थिक अभिलेख लुकाउन खनालले कम्प्युटरमा प्रयोग भइरहेको ‘अक्सपान’ सफ्टवेयर हटाएर ‘कोसीस’ सफ्टवेयर सञ्चालनमा ल्याएको, प्रमाण नष्ट गर्न महत्त्वपूर्ण कागजातहरू जलाएको तथा संस्थाको माइन्युटसमेत किर्ते गरेको अदालतको फैसलामा उल्लेख छ।
लामो समय फरार रही २०८२ वैशाखमा पक्राउ परेका रेवती खनालले मुद्दाको सुनुवाइका क्रममा आफूले सहकारीबाट रकम अपचलन गरेको स्वीकार गरेका थिए। उनले बयानका क्रममा आफूले बिना धितो र बिना प्रमाण, सञ्चालक समितिको सहमति नलिई तोकिएको भन्दा बढी रकम ऋण लगानी गरेको तथा यसमा अन्य प्रतिवादीहरूको किर्ते सहिछाप गरी आफैंले ऋण लिएको दाबी गरेका थिए। उनले आफूले करिब ९१ लाख रुपैयाँ मात्रै हिनामिना गरेको दाबी गर्दै परिवारका सदस्यहरूलाई यसबारे केही जानकारी नभएकाले सजाय हुन नपर्ने जिकिर गरेका थिए।
यता प्रतिवादी बनाइएका परिवारका सदस्यहरूले भने ऋण लिएको बारे आफूहरूलाई कुनै जानकारी नभएको भन्दै अदालतमा इन्कारी बयान दिएका थिए। प्रतिवादीमध्येका मामाससुरा अनन्तजीवन लुइँटेलले आफूले सहकारीको कार्यालयसमेत नदेखेको र ऋणसम्बन्धी कागजातमा रहेको हस्ताक्षर तथा औँठाछापसमेत नमिलेको दाबी गर्दै जिल्ला अदालतको फैसलाविरुद्ध उच्च अदालत विराटनगरको इलाम इजलासमा पुनरावेदन दिएका छन्।







प्रतिक्रिया