इलाम । मेची राजमार्ग पटक–पटक अवरुद्ध भइरहँदा वैकल्पिक मार्गका रूपमा हेरिएको केचना–कञ्चनजंघा सडक (मेची करिडोर) निर्माणमा भएको ढिलाइले पूर्वी पहाडका तीन जिल्ला—इलाम, पाँचथर र ताप्लेजुङका नागरिकलाई थप सास्ती दिएको छ । राजमार्ग अवरुद्ध हुँदा सहज यात्रा हुने अपेक्षा गरिएको यो सडक वर्षौंदेखि अलपत्रजस्तै बन्दा जनजीवन प्रभावित बनेको हो ।
मेची राजमार्ग हुँदै झापाको बिर्तामोड पुग्न करिब ८६ किलोमिटर दूरी पार गर्नुपर्छ । तर, केचना–कञ्चनजंघा सडक निर्माण सम्पन्न भएको खण्डमा यही दूरी घटेर करिब ४८ किलोमिटरमा सीमित हुनेछ । छोटो दूरी, समय बचत र सहज आवतजावतका लागि महत्त्वपूर्ण मानिएको यो आयोजना निर्माण ढिलाइका कारण अहिले प्रभावकारी हुन सकेको छैन ।

खड्का–कृष्ण–सक्षम जेभीले २०७८ असार २९ गते २ वर्षभित्र काम सक्नेगरी २७ करोड २१ लाख ५३ हजार रुपैयाँमा ठेक्का लिएको थियो । साढे नौ किलोमिटर लम्बाइको गोलाखर्क भञ्ज्याङ–बेलासे खण्डको म्याद २०८० पुस २९ सम्म तोकिएको थियो । तर, निर्धारित समयभित्र काम सम्पन्न हुन नसकेपछि पटक–पटक म्याद थपिँदै २०८३ असोजसम्म पुर्याइएको छ । पाँच वर्ष बित्न लाग्दा समेत परियोजनाको भौतिक प्रगति जम्मा ४६ प्रतिशतमा सीमित रहेको सडक डिभिजन कार्यालयले जनाएको छ ।
डिभिजन प्रमुख पवन भट्टराईका अनुसार ठेक्कामा सडक चौडा बनाउने, नाली निर्माण, टेवा पर्खाल, ह्युम पाइप, कल्भर्ट, सब–बेस, बेस र कालोपत्रे गर्ने सम्पूर्ण काम समेटिएको भए पनि अहिलेसम्म एक फिट पनि कालोपत्रे भएको छैन ।
‘३–४ किलोमिटर क्षेत्रमा सब–बेससम्मको काम भएको छ, तर ढिलाइका कारण त्यो पनि वर्षातमा बगेर क्षतविक्षत बन्दै गएको छ,’उनले भने ।
इलाम र झापा जोड्ने करिब ४८ किलोमिटर सडकअन्तर्गत सबैभन्दा जटिल मानिएको गोलाखर्क भञ्ज्याङदेखि बेलासेसम्मको साढे ९ किलोमिटर खण्डमा भएको ढिलाइले समग्र आयोजना नै प्रभावित बनेको छ । अहिले यही खण्डमा हिलो र खराब अवस्थाका कारण यातायात सञ्चालनसमेत प्रभावित भइरहेको छ ।
केही दिन अधिबाट अवरुद्ध रहेको मेची राजमार्गको राजदुवाली क्षेत्रमा ठूलो पहिरो खस्दा सवारी आवागमन ठप्प छ । त्यस्तो अवस्थामा केचना–कञ्चनजंघा सडकलाई वैकल्पिक मार्गका रूपमा प्रयोग गर्ने योजना भए पनि निर्माण कार्य समयमै सम्पन्न नभएकाले यात्रुहरूले झन् बढी दुःख भोग्नुपरेको छ । अहिले पनि वर्षा सुरु भएसँगै राजमार्गमा समस्या दोहोरिँदा विकल्प अभावकै पीडा दोहोरिएको छ ।
यसअघि इलाम भ्रमणमा आएका संघीय सरकारका पूर्वाधार विकासमन्त्री सुनील लम्सालले बेलासे–राकसे–गोलाखर्क भञ्ज्याङ खण्डको काम सन्तोषजनक नभएको भन्दै ठेक्का तोड्न सडक डिभिजन कार्यालयलाई निर्देशन दिएका थिए । तर पछि निर्माण कम्पनीलाई अन्तिम मौका दिने भन्दै ठेक्का तोड्ने प्रक्रिया रोकिएको थियो । तर, त्यसपछि पनि कामले गति लिन नसकेको स्थानीय मन कुमार फागोको गुनासो छ ।
स्थानीय व्यवसायी इस्वर चिपालुले भने, ‘सडक बनेको भए अहिले मेची राजमार्ग बन्द हुँदा कुनै समस्या हुने थिएन । तर काम ढिला हुँदा झन् दुःख पाएका छौँ ।’ व्यापारी, विद्यार्थीदेखि बिरामी बोक्ने एम्बुलेन्ससम्म सबैले वैकल्पिक मार्ग अभावमा सास्ती खेपिरहेका छन् ।
चिपालुका अनुसार, पहाडी जिल्लामा एउटै मुख्य सडकमा निर्भर रहनु जोखिमपूर्ण हुन्छ । त्यसैले केचना–कञ्चनजंघा सडकजस्ता वैकल्पिक मार्ग समयमै सम्पन्न हुनु अत्यावश्यक हुन्छ । तर, कमजोर अनुगमन, निर्माण कम्पनीको लापरबाही र प्रशासनिक ढिलासुस्तीका कारण आयोजना अपेक्षित गतिमा अघि बढ्न नसकेको देखिन्छ ।
अहिलेको अवस्था हेर्दा मेची करिडोर केवल कागजमै सीमित भएको अनुभूति स्थानीयले गरिरहेका छन् । वर्षौंदेखि आशा गरिँदै आएको यो सडक समयमै सम्पन्न हुन नसक्दा इलामबासीले हरेक वर्ष दोहोरिने सडक संकट झेल्न बाध्य छन् ।
मेची राजमार्ग अवरुद्ध हुँदा वैकल्पिक मार्गको अभावले उत्पन्न समस्या र केचना–कञ्चनजंघा सडक निर्माणमा भएको ढिलाइ एउटै सिक्काका दुई पाटा बनेका छन् । अब पनि सम्बन्धित निकाय गम्भीर नबन्ने हो भने, इलाम, पाँचथर र ताप्लेजुङका नागरिकले यस्तै सास्ती अझै लामो समयसम्म भोग्नुपर्ने निश्चित देखिन्छ ।







प्रतिक्रिया