बिर्तामोड । लियोनेल मेस्सी नेतृत्वको अर्जेन्टिनाले फिफा विश्वकप २०२६ को फाइनलमा युरोपियन च्याम्पियन स्पेनको सामना गर्ने भएको छ । खेल आज राति १२ः४५ बजे सुरु हुनेछ ।
मेस्सीले आफ्नो क्लब करियरको अधिकांश समय बिताएको देश स्पेनविरुद्ध खेलिने यो फाइनल दुई फरक फुटबल शैलीबीचको रोमाञ्चक भिडन्तका रूपमा हेरिएको छ ।
![]()
स्पेनको यात्रा
स्पेनले सेमिफाइनलमा उपाधिको प्रमुख दाबेदार फ्रान्सलाई उत्कृष्ट प्रदर्शनसहित पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । प्रशिक्षक लुइस डे ला फुएन्तेको टोलीले बलमाथिको नियन्त्रण र सटीक फिनिसिङमार्फत खेलभर फ्रान्सलाई दबाबमा राखेको थियो ।
स्पेनले समूह चरणमा समूह ‘एच’ को विजेता बने पनि सुरुआत सहज थिएन । पहिलो खेलमा केप भेर्डेसँग गोलरहित बराबरी खेलेको स्पेनले त्यसपछि साउदी अरेबियालाई ४–० ले हरायो र उरुग्वेमाथि १–० को जित निकाल्दै नकआउट चरणमा प्रवेश गर्यो ।
राउन्ड अफ ३२ मा अस्ट्रियालाई ३–० ले पराजित गरेको स्पेनले त्यसपछि पोर्चुगल र बेल्जियमविरुद्ध लगातार अन्तिम समयमा मिकेल मेरिनोको निर्णायक गोलमा जित निकाल्यो । प्रतियोगिताभर स्पेनले हालसम्म केवल एक गोल मात्र व्यहोरेको छ ।
स्पेन सन् २०१० मा दक्षिण अफ्रिकामा पहिलो पटक विश्वकप जितेपछि पहिलो पटक फाइनलमा पुगेको हो ।
अर्जेन्टिनाको यात्रा
साविक विजेता अर्जेन्टिनाले लगातार दोस्रो तथा समग्रमा सातौं विश्वकप फाइनल यात्रा तय गरेको छ । कप्तान लियोनेल मेस्सीको प्रेरणादायी प्रदर्शनमा अर्जेन्टिनाले समूह चरणका तीनै खेल जित्यो ।
मेस्सीको ह्याट्रिकमा अल्जेरियालाई ३–०, अस्ट्रियालाई २–० तथा जोर्डनलाई ३–१ ले हराउँदै अर्जेन्टिनाले शतप्रतिशत नतिजासहित समूह चरण पार गर्यो । मेस्सीले यस विश्वकपमा ८ गोल गरिसकेका छन् भने विश्वकप इतिहासमा उनको कुल गोल संख्या २१ पुगेको छ ।
नकआउट चरणमा भने अर्जेन्टिनाको यात्रा निकै कठिन रह्यो । केप भेर्डेलाई अतिरिक्त समयमा ३–२ ले पराजित गरेको टोलीले इजिप्टविरुद्ध २–० ले पछि परेको अवस्थाबाट ऐतिहासिक पुनरागमन गर्दै ३–२ को जित निकालेको थियो । क्वार्टरफाइनलमा स्विट्जरल्यान्डलाई अतिरिक्त समयमा ३–१ ले हराएको अर्जेन्टिनाले सेमिफाइनलमा इंग्ल्यान्डविरुद्ध पनि पुनरागमन गर्दै २–१ को जित निकाल्यो ।
दोस्रो हाफमा एन्थोनी गोर्डनले इंग्ल्यान्डलाई अग्रता दिलाए पनि एन्जो फर्नान्डेजको लामो दूरीको गोल र वैकल्पिक खेलाडी लाउटारो मार्टिनेजको हेडरले अर्जेन्टिनालाई फाइनल पु¥यायो ।
विश्वकपमा पहिलो फाइनल भिडन्त
स्पेन र अर्जेन्टिना विश्वकपमा यसअघि केवल एकपटक मात्रै भिडेका छन् । सन् १९६६ को विश्वकप समूह चरणमा भएको उक्त खेल अर्जेन्टिनाले २–१ ले जितेको थियो ।
दुवै टोलीबीच हालसम्म १३ वटा मैत्रीपूर्ण खेल भएका छन्, जसमा स्पेनले ६, अर्जेन्टिनाले ५ खेल जितेका छन् भने २ खेल बराबरीमा सकिएका छन् । पछिल्लो भेट २०१८ मा भएको थियो, जहाँ स्पेनले अर्जेन्टिनालाई ६–१ ले पराजित गरेको थियो ।
सम्भावित सुरुआती टोली
स्पेन– सिमोन, पोरो, लापोर्ते, कुबार्सी, कुकुरेला, रोड्री, फाबियन, लामिन यामाल, ओल्मो, बाएना, ओयारजाबाल । अर्जेन्टिना– मार्टिनेज, नाहुएल, रोमेरो, लिसान्द्रो मार्टिनेज, टालियाफिको, परेडेस, म्याक एलिस्टर, एन्जो फर्नान्डेज, जुलियानो सिमेओने, लियोनेल मेस्सी, जुलियन आल्भारेज ।







प्रतिक्रिया