बिर्तामोड । बिर्तामोड नगरपालिकाले सडकको क्षेत्राधिकार भित्र परेका अनाधिकृत भौतिक संरचना हटाउन थप १५ दिन समय थप गरेको छ । नगरपालिकाले दोस्रो पटक सूचना जारी गर्दै १५ दिने सार्वजनिक सूचना जारी गरेको हो ।
महानन्द चोक देखि मुक्तिचोक हुँदै देउनियासम्मको सडकको केन्द्र भागबाट दुवैतर्फ १५-१५ मिटर (कुल ३० मिटर) क्षेत्राधिकार भित्र बनेका अनाधिकृत संरचनाहरू हटाउन नगरपालिकाले सरोकारवालाका लागि सूचना जारी गरेको हो ।
सडक विभागको समन्वयमा नापजाँच तथा रेखाङेकन कार्य सम्पन्न भइसकेपछि पहिलो पटक जारी गरिएको ३५ दिने सूचना जारी गरिएको थियो ।
सो अवधि समाप्त भएपछि अर्को सूचना जारी गरिएको छ । ३५ दिने समयसीमामा संरचनाहरू नहटाइएकाले दोस्रो सूचना प्रकाशित गरिएको नगरपालिकाले जनाएको छ । केही घरधनीहरुले नगरको सूचनाका आधारमा घर भत्काइरहेका छन् ।
सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र तोकिएको रेखाङ्कन भित्र पर्ने आफ्ना सम्पूर्ण भौतिक संरचनाहरू स्वतःस्फूर्त रूपमा हटाई सडक क्षेत्र खाली गरिदिन सम्बन्धित सबैमा अनुरोध गरिएको छ । तोकिएको थप अवधिभित्र संरचना नहटाइएमा नगरपालिकाले प्रचलित कानुन बमोजिम आफैं संरचना हटाउने र हटाउँदा लाग्ने सम्पूर्ण खर्च रकम सम्बन्धित घर वा जग्गाधनीबाटै असुल उपर गरिने प्रमुख प्रशासकीय अधिकृत सागर मिश्रद्वारा हस्ताक्षरित सूचनामा उल्लेख छ ।
पहिलो पटक गत जेठ २७ गते सूचना प्रकाशन गरिएको थियो । सो सूचनाको समय असार मसान्तसँगै सकिएको छ । ३५ दिनभित्र हटाउन निर्देशन दिएपनि अनाधिकृत संरचनाहरु हटाउन सम्बन्धित पक्षले चासो दिइरहेको छैन । एकाघर परिवारले नगरपालिकाले गरेको रेखाङकनका आधारमा घर भत्काइरहे पनि उल्लेख्य मात्रामा परिणाम देखिएको छैन ।
बिर्तामोड नगरपालिकाको रेखाङकनका आधारमा ६२ वटा आरसीसी भवन र १ सय टहरासडक क्षेत्रभित्र पर्ने देखिएको छ । ति सबै अनाधिकृत संरचना हटाएर नगरपालिकाले सार्वजनिक सडकको संरक्षण गर्ने योजना अघि सारेको हो ।
बिर्तामोड नगरपालिकाका नगर प्रमुख पवित्रा महतारा प्रसाईले अनाधिकृत संरचना हटाइने जानकारी दिनुभयो । उहाँका अनुसार ३५ दिनको अवधि सकिएको छ । थप १५ दिनको समय समेत थप गरिएको छ । आवश्यक प्रक्रिया पूरा गर्न ३५ दिनपछि थप १५ दिनको समय दिएका हौं, त्यो समयभित्र पनि अनाधिकृत संरचना नहटाएर बाँकी प्रक्रिया अघि बढाइने छ, नगर प्रमुख प्रसाईले भन्नुभयो ।
नगर उपप्रमुख नगेन्द्र संग्रौलाले अनाधिकृत संरचना भएका घरधनीहरुले आफै भत्काउनु राम्रो हुने प्रतिक्रिया दिनुभएको छ । आफ्नो घर संरचना सुरक्षित रुपमा भत्काएमा पुनःप्रयोग गर्न मिल्ने उहाँको धारणा छ ।
बिर्तामोड उद्योग वाणिज्य संघले वर्खायाम र दशैंतिहार अघि व्यवसाय प्रभावित नबनाउन आग्रह गरेको छ ।
छठ पर्वभन्दा अगाडि संरचना हटाउने काम नगर्न वाणिज्य संघको सूझाव छ ।







प्रतिक्रिया