मुख्य समाचार

कोरियन भाषा परीक्षाको आवेदन खुल्यो

कोरियन भाषा परीक्षाको आवेदन खुल्यो


काठमाण्डौ – रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत सन् २०२६ का लागि विभिन्न क्षेत्र गरी ७ हजार २०० जना नेपाली लैजान कोरियाले भाषा परीक्षाको आवेदन माग गरेको छ ।

युवा, श्रम तथा रोजगार मन्त्रालयअन्तर्गतको वैदेशिक रोजगार विभाग, ईपीएस कोरिया शाखाले नेपाल–कोरिया सरकारबीच भएको समझदारीअनुसार ईपीएस अन्तर्गत भाषा परीक्षाका लागि आवेदन आह्वान गरेको हो । यही साउन ११ गतेदेखि खुला गरिने परीक्षा आवेदनमा उत्पादन क्षेत्रमा ५ हजार, कृषि तथा पशुपालन क्षेत्रमा २ हजार, सेवा क्षेत्र र वन पैदावारमा समान एक सयको संख्यामा नेपालीले रोजगारी पाउनेछन् । सेवा र वन पैदावार क्षेत्र थप भएको हो ।

ईपीएस कोरिया शाखाका अनुसार आवेदन अगस्ट २ तारिख अर्थात् साउन १७ गतेसम्म अनलाइनमार्फत दिन सकिनेछ । आवेदन दिनका लागि उमेर १८ वर्ष पूरा भई ३९ वर्ष ननाघेको हुनुपर्नेछ । साथै, फौजदारी अभियोगमा अदालतबाट सजाय नपाएको, कोरियामा गैरकानुनी रूपमा बसेर फिर्ता नभएको, नेपाल सरकारले विदेश जान रोक नलगाएको र कोरियामा ई–९ वा ई–१० भिसामा ५ वर्ष वा त्योभन्दा बढी समय नबसेको हुनुपर्नेछ ।

पहिलो चरणको भाषा परीक्षाको नतिजापछि अर्को चरणको परीक्षा सञ्चालन गरिने शाखाले जनाएको छ । परीक्षाका लागि आवेदकले २८ अमेरिकी डलर शुल्क बुझाउनुपर्नेछ । अन्तिम परीक्षामा उत्तीर्ण उम्मेदवारको नतिजा प्रकाशन भएको मितिले २ वर्षसम्म वैधता रहनेछ । तर कोरियन भाषा परीक्षा पास गरेर मात्रै कोरियामा रोजगारी सुनिश्चित नहुने ईपीएस शाखाले जनाएको छ । परीक्षा आवेदन संख्याका आधारमा भाषा परीक्षाको मिति तय हुनेछ ।

शेयर गर्नुहोस :

81
Shares