Banner news

बिर्तामोडमा खानेपानीको महसुल नबुझाउनेको धारा काट्न थालियो

बिर्तामोडमा खानेपानीको महसुल नबुझाउनेको धारा काट्न थालियो


बिर्तामोड । बिर्तामोड साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले महसुल नबुझाउने उपभोक्ताहरुको धारा काट्ने अभियान सुरु गरेको छ । साउन महिना सुरु भएपछि खानेपानीले धारा काट्न थालेको हो ।

३ महिनादेखि खानेपानीको महसुल नबुझाउनेहरुको धारा काट्न सुरु भइसकेको खानेपानी संस्थाले जनाएको छ । लामो समयदेखि वक्यौता रकम ताकेता गर्दा समेत अटेरी गर्नेहरुको धारा काट्न थालिएको हो । अब खानेपानी संस्थाले वक्यौता नबुझाउने जो सुकैको धारा काटिने जनाइएको छ ।

बिर्तामोड खानेपानीका अनुसार डेढ लाखसम्म वक्यौता रकम नबुझाउने उपभोक्ता रहेका छन् । १० हजारदेखि माथि ५० हजार रुपैयाँसम्म महसुल नबुझाउनेको संख्या उल्लेख्य रहेको पाइएको छ ।

कार्यालयबाट महसुल बुझाउन पटक–पटक ताकेदा गर्दा समेत बुझाउन नआएपछि धारा काट्ने अभियान थालिएको छ ।
साउन १ देखि दैनिक २० देखि ५० वटा धारा काट्ने काम भइरहेको छ । धारा काटेर ल्याएपछि दैनिक २० जनासम्मले महसुल बुझाएर धारा जडान गर्ने गरेको पाइएको छ । १० हजार ९ सय उपभोक्ता रहेको बिर्तामोड खानेपानीमा ५०-५५ महिनासम्म महसुल नबुझाउने उपभोक्ताको नाम तयार गरेर धारा काट्ने अभियान सुरु गरिएको बताइएको छ । बिर्तामोडका नाम चलेका व्यापारी, संघ संस्थाहरु समेतले महसुल नबुझाएको पाइएको छ ।

खानेपानी संस्थाले महसुल नबुझाउने मठ मन्दिर, वडा कार्यालय, सरकारी कार्यालयहरु, व्यापारिक प्रतिष्ठान, हस्पिटल सबैको धारा काट्ने जनाएको छ । बिर्तामोड खानेपानीले बिर्तामोडको सबै वडा, अर्जुनधाराको वडा नं. ५, ६ र १० मा खानेपानी सेवा विस्तार गरेको छ ।

 

शेयर गर्नुहोस :

135
Shares