बिर्तामोड । बिर्तामोड नगर अस्पतालले स्थानीय तहभित्रै सर्वसुलभ र गुणस्तरीय स्वास्थ्य सेवा पु¥याउने उद्देश्यका साथ २४ सै घण्टा निःशुल्क प्रसूति सेवा सञ्चालन गरिरहेको छ ।
निःशुल्क प्रसूति सेवा सञ्चालनमा आएपछि नगर अस्पतालमा २२३ जनाले उक्त सेवा लिएका छन् । नगर अस्पतालका अनुसार आर्थिक वर्ष २०८०-०८१ देखि प्रसूति सेवा सुरु भएको थियो । सेवा सुरु भएपछि गत असार मसान्तसम्म २२३ जनाको नर्मल डेलिभरी भएको छ । अस्पतालमा नर्मल डेलिभरीको मात्रै सुविधा उपलब्ध छ ।

आर्थिक वर्ष २०८२-८३ मा मात्रै ८१ जनाको नर्मल डेलिभरी भएको नर्सिङ इञ्चार्ज ओमकुमारी गुरुङले जानकारी दिनुभयो । पहिलो वर्ष ७०, दोस्रो वर्ष ७२ र तेस्रो वर्ष ८१ जनाले प्रसुति सेवा लिएको उहाँको भनाई छ । उहाँका अनुसार ३ वर्षमा १०४ जना छोरा र ११९ जना छोरीको नगर अस्पतालमा जन्म भएको छ । बिर्तामोड नगर अस्पतालमा छिमेकी पालिका, अन्य जिल्लाका महिलाहरुले समेत सेवा लिदैं आएका छन् ।
नियमित जाँचको प्रोटोकल मिलाउने सुत्केरीहरुलाई रु ८०० र यातायात भाडा रु १००० उपलब्ध गराउने गरिएको गुरुङले जानकारी दिनुभयो । सुत्केरीलाई न्यानो झोला मार्फत आमा र बच्चा कपडासमेत उपलब्ध गराइने गरिएको छ ।
नर्सिङ इञ्चार्ज गुरुङका अनुसार ५ सय भन्दा धेरै महिलाको पाठेघरको जाँच गरिएको छ भने १७२ जनाले सुरक्षित गर्भपत सेवा लिएका छन् । दक्ष प्रसूतिकर्मी रहेको नगर अस्पतालमा आवश्यक उपकरणहरुको व्यवस्था मिलाइएको छ । अस्पतालमा शल्यक्रिया मार्फत हुने प्रसूति सेवा सञ्चालनका लागि आवश्यक छलफल चलिरहेको छ ।







प्रतिक्रिया