बिर्तामोड

सरकारको सय दिन जनताका लागि पीडादायी : सांसद राई

सरकारको सय दिन जनताका लागि पीडादायी : सांसद राई


बिर्तामोड । नेपाली कांग्रेस केन्द्रीय सदस्य एवं जरा अभियान अन्तरगत झापाका लागि केन्द्रीय प्रतिनिधि बसन्त भट्टराईले वी.पी. कोइरालाले जीवनभर जनअधिकार र प्रजातान्त्रिक समाजवादी जीवनशैलीका निमित्त संघर्ष गर्नुभएको बताउनुभएको छ ।

नेपाली कांग्रेस झापाको आयोजनामा जननायक वी.पी. कोइरालाको ४४ औं स्मृति दिवस एवं जरा अभियान समापन कार्यक्रमलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै नेता भट्टराइले वी.पी. कोइरालाको राजनीतिक यात्रा, निर्वासन, जेल जीवन, मेलमिलाप नीति लिएर स्वदेश फर्किएको प्रसङ्ग, यसले राजनीतिमा ल्याएको हलचल, जनमत संग्रहको पृष्ठभूमि लगायतका विषयमा विस्तृत चर्चा गर्नुभएको हो ।

‘राजाले वी.पी. कोइरालालाई आजन्म प्रधानमन्त्री बनाउने प्रस्ताव गर्नुभएको थियो’ – मेलमिलापको नीति लिएर वी.पी. स्वदेश फर्किएपछिको प्रसङ्ग उल्लेख गर्दै नेता भट्टराइले भन्नुभयो – ‘त्यसबेला वी.पी.ले स्पष्ट जवाफ दिनुभएको थियो, तपाईले नियुक्ति दिएको प्रधानमन्त्री जुत्ता फेरेजस्तै हो, म जनमतबाटै प्रधानमन्त्री बन्छु भनेर स्पष्ट जवाफ दिनुभएको थियो ।’ जनमत संग्रहमा बहुदलबादीको जीत निर्वाचनअघि नै सुनिश्चित जस्तै देखिएपनि कुटनीतिक हस्तक्षेपका कारण मतपरिणाम उल्टिएको उहाँको भनाई थियो ।

कार्यक्रममा नेपाली कांग्रेस केन्द्रीय सदस्य सुरेश सुब्बाले वी.पी कोइराला राजनीतिमा प्रजातन्त्रवादी र साहित्यमा अराजकतावादी रहेको धारणा राख्दै राख्नुभयो ।

नेपाली कांग्रेस केन्द्रीय सदस्य उमा शिवाकोटीले वी.पी. कोइरालाले २०१५ सालमै शक्ति विकेन्द्रीकरण, समावेशी र भौगोलिक सहभागिताको नीति लिएको उल्लेख गर्दै उहाँले अहिले देश यही नीतिबाट सञ्चालन भइरहेको बताउनुभयो ।
कार्यक्रममा नेपाली कांग्रेस कोशी प्रदेश सभापति उद्वव थापाले वी.पी. सँगको राजनीतिक भेटका प्रसङ्ग सुनाउँदै प्रेरक ब्यक्तित्वका बारे चर्चा गर्नुभएको थियो ।

वीपी.को नीति, सिद्धान्त, जीवनशैली र विचारको अनुशरण एवं ब्यवहारिक प्रयोगले राजनीति सफल हुने प्रसङ्ग उल्लेख गर्दै उहाँले राजनीति र साहित्यमार्फत वी.पी.ले नागरिक स्वतन्त्रताको विषय उठाउनुभएको धारणा राख्नुभयो ।
नेपाली कांग्रेस प्रतिनिधिसभा संसदीय दलका प्रमुख सचेतक निस्कल राईले संसदीय ब्यवस्थाको परिकल्पना वी.पी. कोइरालाले नै गर्नुभएको उल्लेख गर्दै प्रतिनिधिसभाको गरिमा कायम राख्न आफूहरु प्रयासरत रहेको धारणा राख्नुभयो । सत्तारुढ दलकै सांसदहरुले संसदको गरिमा राख्न नसकेको बताउनुभएको र उहाँले निशानछापको प्रयोग समेत जथाभावी गर्ने गरेको टिप्पणी गर्नुभयो ।

सरकारका लागि सय दिनको अवधि मधुमास भएपनि जनताका लागि पीडादायी रहेको बताउनुभएका नेता राईले सुकुम्बासी बस्ती ब्यवस्थापनमा सरकार असफल देखिएको टिप्पणी गर्नुभयो । सुकुम्बासी बस्ती ब्यवस्थापनमा सरकारले नागरिकको मौलिक हकको संरक्षण समेत गर्न नसकेको उहाँको भनाई थियो । सञ्चारमाध्यम र पार्टी नेताहरुका घरअगाडिको गाडी पार्किङ सरकारी आतंक भएको उहाँको भनाई छ ।

नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवेले झापामा डिजिटल प्रविधिबाट क्रियाशिल सदस्यता अध्यावधिक कार्य झापामा सफल भएको उल्लेख गर्दै यसमा खटिने सवै तहका नेताकार्यकर्तालाई धन्यवाद ज्ञापन गर्नुभयो । झापामा हालसम्म २३ हजार ३३ जना क्रियाशिल सदस्यको अध्यावधि भएको उहाँले जानकारी दिनुभयो ।

सभापति थेवेको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव नवीन विमलीले गर्नुभएको थियो । कार्यक्रममा नेपाली कांग्रेस कोशी प्रदेश समितिका सदस्यहरु चन्द्रकला भट्टराई, मिरा खड्का, नेपाली कांग्रेस झापाका उपसभापति शेरबहादुर भट्टराई र केशवराज पाण्डे, सचिव कृष्ण हुमागाई, सहसचिव कमल भण्डारी र कालेन्द्रप्रसाद सिंह राजवंशी, नेपाल महिला संघ केन्द्रीय सदस्य मन्धरा चिमरिया पौडेल, महासमिति सदस्यहरु, महाधिवेशन प्रतिनिधि, क्षेत्रीय, प्रदेशसभा क्षेत्रीय र गाउँ÷नगर सभापतिहरु , विभिन्न भातृ तथा शुभेच्छुक संघ संस्थाका प्रतिनिधि एवं विभिन्न तहका नेता–कार्यकर्ताको उल्लेख्य सहभागिता रहेको थियो ।

वी.पी. स्मृति दिवसकै अवसर पारेर झापाको भद्रपुर–१० मा रहेको वी.पी. कोइरालाको शालिकमा माल्यार्पण गरिएको छ । नेपाली कांग्रेस केन्द्रीय सदस्य बसन्त भट्टराई, कोशी प्रदेश सभापति उद्वव थापा, झापा सभापति देउकुमार थेवे लगायत नेता÷कार्यकर्ताको टोलीले वी.पी.कोइरालाको शालिकमा माल्र्यार्पण गरेको हो ।

वी.पी. स्मृति दिवसकै अवसर पारेर नेपाली कांग्रेस हल्दिबारीले बृक्षरोपण कार्यक्रम सम्पन्न गरेको छ । स्थानीय देउनिया विश्रामस्थल परिसरमा विभिन्न जातका २१ वटा विरुवा रोपिएको हो । नेपाली कांग्रेस ३ नम्बर क्षेत्रीय सभापति गणेश पोखरेलको प्रमुख आतिथ्य र हल्दिबारी गाउँ समिति सभापति गंगाप्रसाद प्रसाईको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।

शेयर गर्नुहोस :

81
Shares