दमक

दमकमा पारिवारिक विवाद हुँदा दम्पतीकै मृत्यु

दमकमा पारिवारिक विवाद हुँदा दम्पतीकै मृत्यु


दमक । झापाको दमक नगरपालिका–१ सिरपाली चोकमा पारिवारिक विवादका क्रममा खुकुरी प्रहार र त्यसपछि भएको आत्महत्या प्रयासको घटनामा परी एकै दम्पतीको मृत्यु भएको छ ।

प्रहरीका अनुसार आज दिउँसो करिब २ बजेको समयमा स्थानीय ४२ वर्षीय धन बहादुर दर्जी र उनकी ४२ वर्षीया श्रीमती बिजय कुमारी दर्जीबीच भनाभन एवं झैझगडा भएको थियो । विवादका क्रममा धन बहादुरले श्रीमतीमाथि खुकुरी प्रहार गरेका थिए । खुकुरी प्रहारबाट बिजय कुमारीको टाउको र बायाँ हातमा गम्भीर चोट लागेर बोल्न नसक्ने अवस्था बनेकी थिइन् ।

श्रीमतीमाथि आक्रमण गरेलगत्तै धन बहादुरले सोही घरको अर्को कोठामा गई सिलिङ पंखामा सलको पासो लगाई आत्महत्याको प्रयास गरेका थिए ।

घटनाको जानकारी उनीहरुकै २५ वर्षीया छोरी प्रियंका दर्जीले पाएपछि उनले पासो काटी बुबालाई भुइँमा लडाएर इलाका प्रहरी कार्यालय दमकलाई खबर गरेकी थिइन् ।

सूचना पाउनासाथ प्रहरी निरीक्षक प्रमोद खड्काको कमाण्डमा खटिएको प्रहरी टोलीले दुवै जनालाई उद्धार गरी तत्काल उपचारका लागि दमक अस्पताल पठाएको थियो । अस्पताल पुर्याउँदा दुवैको अवस्था गम्भीर रहेको थियो ।
दिउँसो साढे ३ बजे दमक अस्पतालका चिकित्सकले चेकजाँचका क्रममा दुवै जनाको मृत्यु भइसकेको घोषणा गरेका छन् ।
प्रहरीले आवश्यक सम्पूर्ण कानुनी प्रक्रिया पूरा गरी शव पोस्टमार्टमका लागि सोही अस्पतालमा राखेको र घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

Photo : AI

शेयर गर्नुहोस :

0
Shares