बिर्तामोड

जमरकट्टेलको सम्मान र सम्झनामा झापाका विद्यालयमा शोक बिदा

जमरकट्टेलको सम्मान र सम्झनामा झापाका विद्यालयमा शोक बिदा


बिर्तामोड । देवभूमि विद्यापीठ अंग्रेजी माध्यमिक विद्यालय अर्जुनधाराका संस्थापक प्रिन्सिपल सुमन शर्मा जमरकट्टेलको सम्मान र सम्झनामा शोक विदा गरिएको छ । एक सूचना जारी गर्दै प्याब्सन झापाले साउन ८ गते शुक्रवार जिल्लाभरका विद्यालयहरुमा शोक विदा दिने निर्णय गरिएको हो ।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) झापाका कार्यसमिति सदस्य एवम् देवभूमि विद्यापीठ अंग्रेजी माध्यमिक विद्यालय अर्जुनधाराका संस्थापक प्रिन्सिपल जमरकट्टेलको आज विहान असामयिक निधन भएको थियो ।

प्याब्सन झापाको सांगठनिक जीवनमा अतुलनीय योगदान गर्दै आएका जमरकट्टेल हाल जिल्ला कार्यसमितिको निरन्तर तेस्रो कार्यकालका बहालवाला सदस्य थिए । उनको असामयिक निधनले सिङ्गो प्याब्सन झापा स्तब्ध र मर्माहत बनेको शोक विज्ञप्तिमा उल्लेख छ ।

प्याब्सन झापाका सचिव लक्ष्मी प्रसाद उप्रेतीद्वारा जारी विज्ञप्तिअनुसार झापा अन्तर्गतका कक्षा नर्सरीदेखि १२ सम्मका सम्पूर्ण निजी विद्यालयहरूमा शुक्रबार पठनपाठन पूर्ण रूपमा बन्द रहनेछ । प्याब्सन झापाले जमरकट्टेलप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेको छ ।
यस्तै, इक्यान झापाले पनि शुक्रवार जिल्लाका शैक्षिक परामर्श संस्थाहरु बन्द गर्ने जनाइएको छ । इक्यान झापाका संस्थापक अध्यक्ष रहेका जमरकट्टेल सामाजिक क्षेत्रमा समेत क्रियाशिल थिए ।

शेयर गर्नुहोस :

432
Shares