Banner news

अलबिदा ‘सुमन सर’

अलबिदा ‘सुमन सर’


बिर्तामोड । सामाजिक सेवामा सक्रिय शिक्षासेवी सुमन शर्मा जमरकट्टेलको हृदयाघातका कारण निधन भएको छ । ५० वर्षीय जमरकट्टेलको बिहीवार (आज)  बिहान निधन भएको हो ।

झापा अर्जुनधारा-५ स्थित देवभूमि विद्यालयका संस्थापक तथा झापाका शिक्षासेवी जमरकट्टेलको विद्यालय परिसरमा व्यायाम गरेपछि छाती दुखेर तत्काल उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै निधन भएको थियो । उनको कनकाई माईमा बिहीवार दिउँसो अन्त्येष्टि गरिएको छ । स्वर्गीय जमरकट्टेलका श्रीमती, एक छोरा र एक छोरी छन् ।

इक्यान झापाका संस्थापक अध्यक्ष जमरकट्टेल लामो समयदेखि शिक्षा क्षेत्रमा सक्रिय थिए । शिक्षा, धार्मिक र सामाजिक गतिविधिमा सक्रिय उनी शैक्षिक परामर्श क्षेत्रमा अभिभावकीय भूमिका निर्वाह गर्दै आएका थिए ।

इक्यानको सल्लाहकारका रूपमा रहेका उनी रोटरी क्लब अफ बिर्तामोड मिडटाउनका पूर्व अध्यक्ष समेत हुन् । बिर्तामोडका विभिन्न सहकारी संस्थाहरुमा आबद्ध रहेर उनले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । त्यस्तै, सञ्चार क्षेत्रसँग नजिक रहेका जमरकट्टेल विवेचना दैनिकमा सञ्चालकको रुपमा समेत आबद्ध रहेका थिए । श्री श्री ठाकुर अनुकूलचन्द्र धर्मसँग आस्थावान उनी सो क्षेत्रमा समेत अगुवाका रुपमा स्थापित थिए ।

हालै सम्पन्न इक्यान झापाको आन्दोलनमा मुख्य वक्ताका रुपमा सम्बोधन गरेका उनी बुधबार वृक्षरोपण लगायतका कार्यक्रममा सक्रिय रहेका थिए । विभिन्न व्यवसायमा जोडिएका उनी साझेदारहरुसँग आर्थिक वर्ष अन्त्यको काम गर्नमा पनि व्यस्त थिए ।

बुधबार साँझ पनि बिर्तामोडबाट व्यवसायिक काम सकेर घर फर्किएका उनी बिहीवार बिहानै इक्यान सम्बद्ध काममा लाग्ने तयारीमा थिए । उनी बुधबार राति इक्यानको अनलाइन छलफलमा सहभागी रहेको बिर्तासिटी इन्टरनेसन एजुकेसन कन्सल्टेन्सीका सञ्चालक अनिल सापकोटाले बताए ।

सम्मान र सम्झनामा शोक बिदा
देवभूमि विद्यापीठ अंग्रेजी माध्यमिक विद्यालय अर्जुनधाराका संस्थापक प्रिन्सिपल सुमन शर्मा जमरकट्टेलको सम्मान र सम्झनामा शोक विदा गरिएको छ । एक सूचना जारी गर्दै प्याब्सन झापाले साउन ८ गते शुक्रवार जिल्लाभरका विद्यालयहरुमा शोक बिदा दिने निर्णय गरिएको हो ।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) झापाका कार्यसमिति सदस्य जमरकट्टेलको बिहीवार बिहान असामयिक निधन भएको थियो ।

प्याब्सन झापाको सांगठनिक जीवनमा अतुलनीय योगदान गर्दै आएका जमरकट्टेल हाल जिल्ला कार्यसमितिको निरन्तर तेस्रो कार्यकालका बहालवाला सदस्य थिए । उनको असामयिक निधनले सिङ्गो प्याब्सन झापा स्तब्ध र मर्माहत बनेको शोक विज्ञप्तिमा उल्लेख छ ।

प्याब्सन झापाका सचिव लक्ष्मी प्रसाद उप्रेतीद्वारा जारी विज्ञप्तिअनुसार झापाअन्तर्गतका कक्षा नर्सरीदेखि १२ सम्मका सम्पूर्ण निजी विद्यालयहरूमा शुक्रबार पठनपाठन पूर्ण रूपमा बन्द रहनेछ । यस्तै, इक्यान झापाले पनि शुक्रवार जिल्लाका शैक्षिक परामर्श संस्थाहरु शोक बिदा गर्ने जनाएको छ । विभिन्न संघ-संस्था, शैक्षिक व्यक्तित्व तथा शुभेच्छुकहरूले उनको असामयिक निधनले झापाको शैक्षिक, सामाजिक तथा धार्मिक क्षेत्रमा अपूरणीय क्षति पुगेको भन्दै दु:ख व्यक्त गरेका छन् ।

इजलास दैनिक सामाजिक एवम् शिक्षा क्षेत्रका अगुवा जमरकट्टेलप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ ।

शेयर गर्नुहोस :

0
Shares