सम्पादकीय
सरकारी स्वास्थ्यप्रति नागरिकको विश्वास बढ्ने क्रममा छ । विगतमा भन्दा अहिले उपचार सेवाका लागि जाने नागरिकको संख्या पनि दिन प्रतिदिन बढ्दै गइरहेको छ । विपन्न, गरिव परिवार मात्रै उपचारमा जाने भनिने सरकारी स्वास्थ्य संस्थामा सबै वर्गका नागरिकहरु उपचार सेवाका लागि सरकारी स्वास्थ्य संस्थामा जान थालेका छन् । झापामा रहेका सरकारी स्वास्थ्य संस्थाहरुमा नागरिकहरुको भीडभाड बढ्दो क्रममा छ । उपचार सेवा राम्रै भएका कारण भीडभाड बढेको मान्न सकिन्छ । सरकारी स्वास्थ्य संस्थाहरुले दिने सुविधाका कारण उपचार गर्न जानेहरुको संख्या उल्लेख्य छ । स्थानीय तहले गरेका धेरै कामहरुमध्ये प्रशंसा गर्न योग्य काम हो, नगर अस्पतालको स्वास्थ्य उपचार सेवा ।
बिर्तामोड नगरपालिकाले सञ्चालन गरिरहेको सेवाका कारण यहाँ पनि भीडभाड राम्रो छ । बिर्तामोड नगर अस्पतालले २४ सै घण्टा निःशुल्क प्रसूति सेवा सञ्चालन गर्दै आएको छ । उक्त सेवा सञ्चालनमा ल्याएर स्थानीय तहभित्रै सर्वसुलभ र गुणस्तरीय स्वास्थ्य सेवा पु¥याउन सकिन्छ भन्ने उत्कृष्ट उदाहरण पेस गरेको छ । विगत तीन वर्षको आँकडा हेर्दा अस्पतालमा २२३ जना महिलाले सफल रूपमा प्रसुति सेवा प्राप्त गरिसकेका छन् । पहिलो वर्ष ७०, दोस्रो वर्ष ७२ र तेस्रो वर्ष ८१ जनाले सेवा लिनुले स्थानीय सरकारी स्वास्थ्य संस्थाप्रति नागरिकको आकर्षण र भरोसा क्रमिक रूपमा बढ्दै गएको प्रस्ट पार्छ । छिमेकी पालिका तथा अन्य जिल्लाका महिलाहरूले समेत यहाँ आएर सेवा लिनु अस्पतालको ठूलो उपलब्धि हो ।
अस्पतालमा नियमित गर्भ जाँच गराउने सुत्केरीलाई प्रोत्साहन स्वरूप रु ८०० र यातायात भाडा रु १००० सहित ‘न्यानो झोला’ उपलब्ध गराउने नीतिले विपन्न वर्गलाई प्रत्यक्ष राहत पु¥याएको छ । साथै, ५ सयभन्दा बढी महिलाको पाठेघर जाँच र १७२ जनालाई सुरक्षित गर्भपतन सेवा दिनुले प्रजनन स्वास्थ्यप्रति अस्पतालको सजगता दर्शाउँछ । तर, यति उपलब्धिका बाबजुद अस्पतालमा अझै शल्यक्रिया (सिजरियन) मार्फत हुने प्रसूति सेवा सुरु हुन नसक्नु र छलफलमै सीमित हुनुले केही पूर्वाधारको कमीलाई अझै उजागर गर्छ । यस तर्फ स्थानीय सरकारले प्रदेश र केन्द्र सरकारको सहयोग लिन आवश्यक छ । लगानी र इच्छाशक्ति भए सरकारी स्वास्थ्य संस्थाले पनि गुणस्तरीय सेवा दिएर नागरिकको पूर्ण विश्वास जित्न सक्छन् भन्ने दृष्टान्त बिर्तामोड नगर अस्पताल बनेको छ । जब सरकारी स्वास्थ्य संस्थामा न्यूनतम पूर्वाधार र दक्ष जनशक्ति व्यवस्था गरिन्छ, तब जनताको विश्वास स्वतः आर्जन हुन्छ । निजी अस्पतालको महँगो शुल्क तिर्न बाध्य नागरिकका लागि यस्ता स्थानीय प्रयासहरू आशाका किरण हुन् । अब स्थानीय, प्रदेश र संघ सरकारले सरकारी स्वास्थ्य क्षेत्रमा भौतिक पूर्वाधार, आधुनिक प्रविधि र शल्यक्रियासहितको विशेषज्ञ सेवाका लागि लगानी उल्लेख्य रूपमा बढाउनुपर्छ ।







प्रतिक्रिया