भद्रपुर । जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले गत आर्थिक वर्ष २०८२-०८३ मा सवारीसाधन कारबाहीबाट रु दुई करोड ४३ लाख ७४ हजार राजस्व सङ्कलन गरेको छ । अघिल्लो आर्थिक वर्ष २०८१-०८२ मा रु तीन करोड ९५ लाख ५५ हजार ५६० राजस्व सङ्कलन भएको थियो ।
यस आधारमा चालु वर्षको राजस्व अघिल्लो वर्षको तुलनामा रु एक करोड ५१ लाख ८१ हजार अर्थात् करिब ३८ दशमलव ४ प्रतिशतले घटेको देखिएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख तथा प्रहरी निरीक्षक सन्तोष राईका अनुसार आर्थिक वर्ष २०८२÷०८३ मा ट्राफिक नियम उल्लङ्घन गरेका २४ हजार ६८० सवारीसाधनलाई कारबाही गरिएको थियो । अघिल्लो आर्थिक वर्ष २०८१÷०८२ मा भने ५२ हजार ८७५ सवारी चालक कारबाहीमा परेका थिए । कारबाहीको संख्या घटेसँगै राजस्व सङ्कलनमा पनि उल्लेख्य कमी आएको हो ।
कार्यालयको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८२-०८३ मा जिल्लाभर एक हजार ५११ सवारी दुर्घटना भएका छन् । ती दुर्घटनामा ७७ जनाको मृत्यु, १११ जना गम्भीर घाइते तथा दुई हजार ४६४ जना सामान्य घाइते भएका छन् । अघिल्लो आर्थिक वर्ष २०८१-०८२ मा भने एक हजार २९६ सवारी दुर्घटना हुँदा ९५ जनाले ज्यान गुमाएका थिए । त्यस अवधिमा १३९ जना गम्भीर र एक हजार ९३४ जना सामान्य घाइते भएका थिए ।
तथ्याङ्कले चालु वर्षमा ट्राफिक कारबाही र राजस्व सङ्कलन घटे पनि दुर्घटनाको संख्या बढेको देखाएको छ । यद्यपि दुर्घटनामा ज्यान गुमाउनेको संख्या ९५ बाट ७७ मा झरेको छ । यसले निर्माणाधिन काँकडभिट्टा–लौकही सडक खण्डमा दुर्घटनाको जोखिम अझै उच्च रहे पनि मृत्युदर केही घटेको संकेत गरेको छ ।







प्रतिक्रिया