बिर्तामोड । झापाको बिर्तामोड–६ स्थित बुटाबारी युनाइटेड क्लबले आयोजना गरेको चौथो एनी बुटाबारी गोल्डकपको आय–व्यय विवरण सार्वजनिक गरेको छ । आयोजकले प्रतियोगिता सफलतापूर्वक सम्पन्न गर्दै ३ लाख ३६ हजार ६५ रुपैयाँ बचत गर्न सफल भएको जनाएको छ ।
आइतबार आयोजित हिसाब सार्वजनिक कार्यक्रममा क्लबका कोषाध्यक्ष पुण्यप्रसाद तिम्सिनाले प्रतियोगिताबाट कुल २१ लाख ९४ हजार ७९२ रुपैयाँ आम्दानी भएको जानकारी दिए । उनका अनुसार प्रतियोगिता सञ्चालनमा १८ लाख ५८ हजार ७२७ रुपैयाँ खर्च भएको छ ।

प्रतियोगिताका लागि बिर्तामोड नगरपालिका–६ वडा कार्यालयबाट ८ लाख रुपैयाँ आर्थिक सहयोग प्राप्त भएको तथा बाँकी रकम विभिन्न दाता, शुभेच्छुक र संघसंस्थाबाट संकलन गरिएको तिम्सिनाले बताए ।
कार्यक्रममा क्लबका अध्यक्ष रविन राईले बचत भएको रकम खेलाडी उत्पादन, सामाजिक तथा शैक्षिक क्षेत्रमा परिचालन गरिने बताए । क्लबले निकट भविष्यमै फुटबल खेलाडी उत्पादनका लागि प्रशिक्षण सञ्चालन गर्ने तथा खेलमैदान विस्तार र मर्मतको काम पनि अघि बढाउने जानकारी उनले दिए । अध्यक्ष राईले प्रतियोगिता सफल बनाउन सहयोग गर्ने सबै दाता, संघसंस्था, शुभेच्छुक तथा स्वयंसेवकप्रति आभार व्यक्त गरे ।
सोही अवसरमा गोल्डकप सञ्चालन तथा विभिन्न सामाजिक क्षेत्रमा निरन्तर सहयोग पु¥याएको भन्दै बिर्तामोड नगरपालिका–६ का वडा अध्यक्ष सूर्यप्रसाद कन्दङवालाई क्लबले सम्मान गरेको थियो ।
कार्यक्रममा हरियाली सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष जगतकुमार राई र समाजसेवी रामकुमार कन्दङवाले मन्तव्य राखेका थिए । संस्थाका सचिव राम विष्टले कार्यक्रम सञ्चालन गरेका थिए भने उपाध्यक्ष बाबुराम बस्नेतले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।
क्लबका अध्यक्ष रविन राईको अध्यक्षता तथा वडा अध्यक्ष सूर्यप्रसाद कन्दङवाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा जनप्रतिनिधि, विभिन्न संघसंस्थाका प्रतिनिधि, दाता तथा क्लबका पदाधिकारी र सदस्यहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।
गत वैशाख १२ गते सम्पन्न प्रतियोगिताको उपाधि आयोजक बुटाबारी युनाइटेड क्लबले जितेको थियो । फाइनलमा धरानको फेयर फुटबल क्लबलाई २–१ गोलले पराजित गर्दै बुटाबारीले २ लाख २२ हजार २२२ रुपैयाँ नगदसहित ट्रफी जितेको थियो । उपविजेता फेयर फुटबल क्लबले १ लाख ११ हजार १११ रुपैयाँ नगदसहित ट्रफी प्राप्त गरेको थियो । प्रतियोगिताको शीर्ष प्रायोजक खेलकुद पोशाक ब्रान्ड एनी रहेको थियो ।







प्रतिक्रिया