बिर्तामोड । नेकपा एमाले र नेपाली कांग्रेस झापाले स्थानीय तह पुर्नसंरचना बारे पार्टीभित्र छलफल गरेको छ । आइतवार दुवै राजनीतिक दलले आ–आफ्नो पार्टी कार्यालय बिर्तामोडमा छलफल गरेका हुन् ।
दलहरुले पुर्नसंरचनाबारे जनप्रतिनिधि र पार्टीका विभिन्न नेतृत्वसँग सूझाव लिएको बुझिएको छ ।
नेकपा एमाले झापाका उपाध्यक्ष शिव ढुङगेलले स्थानीय तह पुर्नसंरचनाबारे पार्टीभित्र व्यापक छलफल भएको जानकारी दिए । उनका अनुसार पालिकाका प्रमुख, उपप्रमुखहरु, पार्टी नेतृत्वबाट सूझाव लिने काम भएको छ । प्राप्त सूझावका आधारमा पार्टीको धारणा बनाउने जिम्मेवारी जिल्ला पदाधिकारीलाई प्राप्त भएको जनाइएको छ । सूझावहरुका आधारमा एमालेको धारणा बन्छ, उनले भने – सो धारणा नै जिल्लामा अध्ययन समितिलाई प्रस्तुत गरिने छ ।

छलफलमा एमालेबाट निर्वाचित पालिकाका प्रमुख, उपप्रमुख, पार्टीका केन्द्रीय सदस्य, पदाधिकारी, पालिकाका पार्टी अध्यक्षहरु, इञ्चार्ज लगायतको सहभागिता रहेको थियो । एमालेले प्रस्ताव गरेको भन्दै सामाजिक सञ्जालमा भइरहेको प्रचार बारे उनले भने, त्यो सत्य होइन । बल्ल सूझाव लिएका छौं । अब, मात्रै हाम्रो धारणा बन्नेछ ।
यस्तै, नेपाली कांग्रेस झापाका सचिव कृष्ण हुमागाईले जनप्रतिनिधि, पार्टी नेतृत्वबाट सूझाव लिएका बताएका छन् । विज्ञहरुसँग बसेर थप छलफल गरेर मात्रै पुर्नसंरचनाबारे आवश्यक निर्णय लिने उनको भनाई छ ।







प्रतिक्रिया