झापा । संघर्षपूर्ण विद्यार्थी जीवन, शिक्षा क्षेत्रमा देखिने असमानता र सामाजिक यथार्थलाई केन्द्रमा राखेर निर्माण हुन लागेको नेपाली चलचित्र ‘स्ट्रगल अफ स्टुडेण्ट’ को छायाङ्कन सुरु भएको छ । वैदिक विधिअनुसार शुभमुहूर्त सम्पन्न गर्दै झापाको बाह्रदशी ६ स्थित मिनी माउन्टेन इङ्लिस स्कुल परिसरबाट चलचित्रको औपचारिक छायाङ्कन प्रारम्भ गरिएको हो ।
झापाकै परिवेशलाई आधार बनाएर निर्माण हुन लागेको चलचित्रले धनी र विपन्न परिवारका विद्यार्थीबीच देखिने अवसरको असमानता, विद्यालयमा शिक्षक, विद्यार्थी र अभिभावकबीचको समन्वय अभावले निम्त्याउने समस्या तथा त्यसले शैक्षिक गुणस्तरमा पार्ने प्रभावलाई मुख्य कथावस्तु बनाएको छ ।

चलचित्रले आर्थिक अवस्था फरक भए पनि प्रतिभा र मेहनतका आधारमा सफलता हासिल गर्न सकिने सन्देश दिन खोजेको निर्माण टिमले जनाएको छ । विपन्न परिवारमा हुर्किएर पनि अध्ययनमा उत्कृष्ट प्रदर्शन गर्दै समाज र राष्ट्रका लागि योगदान दिन सकिने प्रेरणादायी कथा चलचित्रमा प्रस्तुत गरिनेछ । निर्देशक प्रितम कुमार धमला ‘झापाली कान्छा’ का अनुसार चलचित्रले मनोरञ्जनसँगै शिक्षामा सुधार र रूपान्तरणको आवश्यकता उजागर गर्ने प्रयास गर्नेछ । “विद्यार्थीको वास्तविक संघर्ष, परिवारको आर्थिक अवस्था, विद्यालयको वातावरण र शिक्षाको गुणस्तरबीचको सम्बन्धलाई चलचित्रमार्फत दर्शकसामु ल्याउने हाम्रो उद्देश्य हो’ उनले भने । शिक्षामा समान अवसर र सकारात्मक सोच विकास गर्न चलचित्रले प्रेरणा दिने विश्वास गरेका छौँ ।
चलचित्रको पटकथा, संवाद तथा सहनिर्देशन मञ्जील अधिकारीले गरेका छन् । रमेश खरेल निर्माता तथा राजु खरेल व्यवस्थापन प्रमुखको भूमिकामा छन् । चलचित्रको छायाङ्कन सुवास लिम्बू मेयाङ्वोले गर्दैछन् भने विकास चौधरी को संगीत रहनेछ । चलचित्रमा डा। कुमार सुबेदीका शब्द रहेको गीतसमावेश गरिएको छ । नृत्य निर्देशन राज सुब्बा लावती र सृङ्गार विष्णु कार्की ले सम्हालेका छन् ।
चलचित्रमा कृषा भण्डारी, अनुष्का ढुङ्गाना, अनुभव खापुङ, रिदम ढकाल, दीपा पोखरेल, तुलसी मिश्र लगायतका कलाकारको अभिनय रहने छ । उनीहरूले विद्यार्थी, शिक्षक र अभिभावकका विविध पात्रमार्फत समकालीन शिक्षा प्रणालीका चुनौती र सम्भावनालाई पर्दामा उतार्नेछन् ।
निर्माण टिमका अनुसार चलचित्रले धनी र गरिब विद्यार्थीबीचको खाडललाई मात्र चित्रण गर्ने छैन, शिक्षामा समान अवसर, मेहनत, अनुशासन र सकारात्मक सोचका माध्यमबाट सफल भविष्य निर्माण गर्न सकिने सन्देश पनि प्रवाह गर्नेछ ।
झापाको विभिन्न स्थानमा छायाङ्कन हुने चलचित्रलाई सामाजिक चेतनामूलक तथा प्रेरणादायी कथावस्तुका कारण सबै वर्गका दर्शकले रुचाउने निर्माण पक्षको विश्वास छ । निर्माण टिमले केही महिनाभित्र छायाङ्कन सम्पन्न गरी विजया दशमीको अवसरमा प्रदर्शनको तयारी गर्ने जनाएको छ ।







प्रतिक्रिया