बिर्तामोड । झापाका अग्रज पत्रकार एवम् वरिष्ठ अधिवक्ता लीला उदासीले निश्चित बिटमा पत्रकारिता गर्न आवश्यक रहेको बताउनु भएको छ । एउटा पत्रकारले अब विगतमा जस्तो सबै क्षेत्रको समाचार लेख्ने भन्दा पनि निश्चित बिटमा समाचार लेख्न आवश्यक रहेको सुझाव दिनुभयो ।
प्रेस चौतारी नेपाल झापाको ‘अग्रजलाई सुनौं’ कार्यक्रममा सोमवार मुख्य वक्ताका रुपमा बोल्दै विषय विज्ञ वा बिटमा आधारित समाचार लेखेर नागरिकलाई सुसूचित गर्न आग्रह गर्नुभयो । हरेक पत्रकारले फरक–फरक बिटमा समाचार लेख्न सक्ने बताउँदै उहाँले आधिकारिक समाचारले चुनौति व्यहोर्नु नपर्ने बताउनुभयो । आधिकार र दुवै तर्फको विचार समेटिएको समाचारमा कुनै चुनौति नआउने उहाँको धारणा थियो । उदासीले भन्नुभयो, अहिले एकतर्फी समाचारहरु पनि हेरिरहेको हुन्छु, दुवै तर्फको विचारलाई समाचारमा स्थान दिनुपर्छ । दुवै पक्षलाई विचार राख्ने अधिकार छ ।

कार्यक्रममा उहाँले सम्पादकलाई चिठ्ठी लेखनबाट पत्रकारितामा आकर्षित भएको सुनाउनुभयो । पाँचथर रविमा विद्यार्थीकालमा आउने सोभियत भूमि नामक नेपाली पत्रिकामा सम्पादकलाई चिठ्ठी लेखेको स्मरण गदैं त्यहाँबाट नै पत्रकारितामा नजिक भएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो ‘त्यो पत्रिका कितावमा गाता लगाउन र घरका भित्तामा टाँस्न भनेर किनिन्थ्यो । त्यसरी किनेको पत्रिकामा सम्पादकलाई चिठ्ठी भन्ने कोलम थियो । मैले पनि पठाएको सामग्री त्यहाँ छापियो । त्यो दिन असाध्यै हर्षित भएर सबैलाई देखाए ।’
शिक्षण पेशासँगै पत्रकारिता जीवनमा जोडिएको उहाँको भनाई छ । लेखनीबाट वाम विचार समेत सार्वजनिक गर्दै उहाँले शिक्षण, पत्रकारिता, साहित्य र वकालतका क्षेत्रमा हासिल गर्नुभएका विगतका अनुभव नयाँ पुस्तामाझ प्रस्तुत गर्नुभयो । पाँचथर, झापा हुँदै काठमाडौंसम्म पुगेर पत्रकारितामा सक्रिय रहेको उहाँको अनुभव छ ।
पञ्चायतकालमा पञ्चामृतको सम्पादकन तथा प्रकाशन, मातृभूमि साप्ताहिक, युगज्ञान, सूर्योदय, आकोक, गोरेटो लगायत राष्ट्रियस्तरका पत्रिकामा लेख रचना प्रकाशन गर्नुभयो । उहाँले ०४७ सालदेखि स्वाधिन सम्वाद साप्ताहिक प्रकाशन सुरु गर्नुभएको थियो । कार्यक्रममा उहाँले झापा विद्रोहको विपक्षमा हुँदा पनि तत्कालिन सरकार पक्षले पक्राउ गरी विद्रोही पक्ष भनेर ९ महिना नख्खु जेल राखेको जानकारी गराउनुभयो ।

नयाँ पुस्तालाई अग्रजहरुको अनुभव सुनाउने उद्देश्यले प्रेस चौतारी झापाले ३-३ महिनामा अग्रजलाई सुनौं कार्यक्रम सञ्चालन गर्दै आएको छ । यसअघि शिरो सान्दाई, गञ्जबहादुर दाहाल, केशव आचार्य र नकुल काजीसँग कार्यक्रम सञ्चालन गरिएको छ ।
प्रेस चौतारी झापाका अध्यक्ष प्रदीप परियारको अध्यक्षतामा भएको कार्यक्रममा प्रेस चौतारीका केन्द्रीय सदस्य एवम् झापा जिल्ला इञ्चार्ज मावध विद्रोहीले अग्रज व्यक्तित्व उदासीको परिचय गराउनुभएको थियो ।







प्रतिक्रिया