काठमाडौँ। नेपाल चिकित्सक संघले आज (मंगलबार) देशभरका अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा बन्द गर्ने घोषणा गरेको छ। संघले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै मंगलबारका दिन देशभरका सरकारी, गैरसरकारी तथा निजी अस्पतालहरूमा आकस्मिक बाहेकका सबै सेवाहरू ठप्प पार्ने जानकारी गराएको हो ।
प्रेस विज्ञप्ति अनुसार साउन ९ गते नारायणी अस्पतालमा कार्यरत डाक्टरहरूमाथि सांघातिक आक्रमण र तोडफोड भएको थियो। सो घटनाका दोषीहरूलाई कारबाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय पर्सामा वार्ता भइरहेका बेला पर्साका प्रहरी प्रमुखद्वारा संघका केन्द्रीय कार्यकारिणी सदस्य तथा नारायणी शाखाका अध्यक्ष लगायतका चिकित्सकहरूमाथि गालीगलौज र दुर्व्यवहार गरिएको संघको आरोप छ।
संघले आक्रमणकारीहरूलाई ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन, २०६६’ बमोजिम कडा कारबाही गर्न र वार्ताको क्रममा चिकित्सकहरूलाई दुर्व्यवहार गर्ने पर्साका प्रमुख जिल्ला अधिकारी तथा प्रहरी प्रमुखमाथि समेत तत्काल कारबाही गर्न राज्यसँग जोडदार माग गरेको छ।







प्रतिक्रिया