झापा । पुराना धार्मिक आकृति भएका सिक्का देखाई बहुमूल्य धातुको प्रलोभनमा पारेर ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा झापा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार विभिन्न स्थानबाट ठगी धन्दा चलाइरहेका उनीहरूलाई सिक्कासहित नियन्त्रणमा लिइएको हो ।
गत साउन ८ गते झापाको हल्दिबारी गाउँपालिका–१ स्थित गोलधाप बजारमा एकतर्फ हनुमान र अर्कोतर्फ राम–सीताको आकृति भएको पुरानो तामा जस्तो देखिने सिक्का देखाएर सर्वसाधारणलाई ठगी गरिरहेको अवस्थामा भारतको किसनगञ्ज, गलगलिया निवासी ३१ वर्षीय नजबुल अंसारी र २४ वर्षीय सरफरोस मियालाई प्रहरीले पक्राउ गरेको थियो । उनीहरूमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

त्यस्तै साउन १२ गते झापाकै बाह्रदशी गाउँपालिका–७ रूपचनबारी क्षेत्रमा भगवानको फोटो अंकित सिक्का देखाएर ठगी गर्दै हिँडेको सूचनाका आधारमा सुनसरीको इनरूवा नगरपालिका–८ का ३५ वर्षीय साबिर मियालाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ । निजको साथबाट ४ वटा सिक्का बरामद गरी थप अनुसन्धान अघि बढाइएको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रञ्जन अवाका अनुसार पुराना सिक्का वा धार्मिक आकृति भएका वस्तुहरू देखाएर अस्वाभाविक लाभ हुने प्रलोभनमा पारी ठगी गर्ने गिरोह सक्रिय हुन सक्ने भएकाले सम्पूर्ण सर्वसाधारणलाई सजग रहन आग्रह गरिएको छ । यस्ता शंकास्पद गतिविधि वा व्यक्ति देखिएमा तुरुन्त नजिकैको प्रहरी कार्यालय वा प्रहरी कन्ट्रोल रुमको १०० नम्बरमा सम्पर्क गरी जानकारी गराउन प्रहरीले अपिल गरेको छ ।







प्रतिक्रिया