काठमाडौँ । सुनसरी जिल्लाको देवानगञ्ज गाउँपालिकामा विगत दुई दिनदेखि जारी तनावपूर्ण परिस्थिति र त्यसक्रममा प्रहरीको गोली लागेर स्थानीय युवा ओमप्रकाश मेहताको निधन भएको घटनाप्रति नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । एमालेले आज एक प्रेस वक्तव्य जारी गर्दै राज्य पक्षबाट भएको अत्यधिक बल प्रयोगका कारण युवाको ज्यान गएको र अन्य नागरिकहरू गम्भीर घाइते भएको भन्दै घटनाको तीव्र भत्र्सना गरेको हो ।
नागरिकको जिउधनको सुरक्षा र शान्ति–सुरक्षा कायम गर्ने प्राथमिक जिम्मेवारी बोकेको सरकार तथा स्थानीय प्रशासन संवेदनशील विषयमा चरम गैरजिम्मेवार र उदासीन देखिएको एमालेको ठहर छ । विवाद समाधानका लागि समयमै सार्थक संवाद र समन्वयको पहल गर्नुको सट्टा राज्य संयन्त्रबाट अनावश्यक बल प्रयोग गरी त्रासको वातावरण सिर्जना गर्दा परिस्थिति झनै उत्तेजित बनेको वक्तव्यमा उल्लेख गरिएको छ ।
पार्टीले अकालमै ज्यान गुमाएका देवानगञ्जका युवा ओमप्रकाश मेहताप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेको छ । साथै, घाइते नागरिकहरूको अविलम्ब र निःशुल्क उपचारको व्यवस्था मिलाउन, पीडित परिवारलाई उचित राहत एवं क्षतिपूर्ति प्रदान गर्न र घटनाको निष्पक्ष उच्चस्तरीय छानबिन गरी दोषीमाथि कडा कानुनी कारबाही गर्न सरकारसँग जोडदार माग गरिएको छ ।
राज्यलाई आफ्नो दमनकारी रवैया तत्काल रोकेर संयमताका साथ समस्याको दीर्घकालीन र शान्तिपूर्ण समाधान खोज्न आग्रह गर्दै एमालेले यस विषम परिस्थितिमा कुनै पनि अफवाहको पछि नलागी वर्षौँदेखि कायम धार्मिक, सामाजिक र जातीय सद्भाव अक्षुण्ण राख्न सम्पूर्ण सुनसरीवासी दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक आह्वान समेत गरेको छ ।







प्रतिक्रिया