Banner news

देवानगन्जको तनाव नियन्त्रणमा

देवानगन्जको तनाव नियन्त्रणमा


विराटनगर । सुनसरीको देवानगन्ज गाउँपालिका–३ स्थित देवानगन्ज बजारमा मंगलबार साँझ भएको हुलदंगा र दोहोरो झडप नियन्त्रणमा आएको छ । करिब अढाई घण्टासम्म दुई पक्षबीच भएको झडपपछि राति ९ः३० बजेबाट अवस्था सामान्य बन्दै गएको प्रहरीले जनाएको छ ।

घटनास्थलमा रहेका इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी सुवास हमालका अनुसार अहिले देवानगन्ज क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाइएको छ । झडपका क्रममा एकअर्कामाथि आक्रमण, तोडफोड र आगजनी भएको तथा क्षतिको विवरण संकलन अहिले सम्भव नभएको उनले जानकारी दिए ।

‘राति ९ः३० बजेबाट अवस्था पूर्णरूपमा नियन्त्रणमा आएको छ । अहिले सुरक्षाकर्मी परिचालन गरेर स्थिति सामान्य बनाउने काम भइरहेको छ,’ डीएसपी हमालले भने । प्रहरीका अनुसार मंगलबार साँझ करिब ७ बजेदेखि देवानगन्ज बजारमा दुई पक्षबीच झडप सुरु भएको थियो ।

झडपका क्रममा रड, भाला, खुँडा, तरबार लगायतका घरेलु हतियार प्रयोग भएको प्रहरीले जनाएको छ । सुरक्षा अवस्था नियन्त्रणबाहिर पुग्दा घटनास्थलमा नेपाल र सशस्त्र प्रहरी पुग्न सकेका थिएनन् । अनियन्त्रित भिडका कारण सुरक्षाकर्मीलाई समेत अवस्था नियन्त्रणमा लिन कठिन भएको थियो ।

झडपका क्रममा देवानगन्जका केही घर तथा पसलमा आगजनी र तोडफोड भएको छ । प्रहरीले प्रारम्भिक रूपमा २० वटाभन्दा बढी घर तथा पसलमा क्षति पुगेको हुनसक्ने अनुमान गरेको छ ।

त्यसअघि मंगलबार दिउँसो पनि देवानगन्ज र घुस्की क्षेत्रमा तनाव भएको थियो । केही घरमा आगजनी भएको र सुरक्षाकर्मीमाथि समेत आक्रमण भएको प्रहरीले जनाएको छ । तनाव बढेपछि देवानगन्ज र हरिनगर क्षेत्रमा नेपाली सेनाको हेलिकोप्टरबाट हवाई गस्तीसमेत गरिएको थियो ।

सुरक्षा अधिकारीहरुले मंगलबार दिउँसो देवानगन्ज र कप्तानगन्जको स्थलगत निरीक्षण गर्दै स्थानीय अगुवा तथा सरोकारवालासँग छलफल गर्दै अवस्था सामान्य बनाउन आग्रह गरेका थिए । तर, साँझ पुनः झडप हुन थालेपछि देवानगन्ज बजार तनावग्रस्त र अशान्त बनेको थियो ।

सुरक्षाकर्मीको बाक्लो उपस्थितिमा अवस्था सामान्यतर्फ फर्किएको प्रहरीले जनाएको छ । झडपका क्रममा भएको मानवीय तथा भौतिक क्षतिको यकिन विवरण संकलन भने सम्भव हुन नसकेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घटनामा केही व्यक्तिहरु घाइते भएको अनुमान छ । यकिन विवरण आउन सकेको छैन ।

शेयर गर्नुहोस :

0
Shares