भद्रपुर

मेची क्याम्पसमा बीबीएस एशोसिएसनद्वारा गुरु पूर्णिमा विशेष सम्मान

मेची क्याम्पसमा बीबीएस एशोसिएसनद्वारा गुरु पूर्णिमा विशेष सम्मान


भद्रपुर । मेची बहुमुखी क्याम्पस अन्तर्गत बीबीएस एशोसिएसनले करिब दुई दशकपछि पहिलो पटक औपचारिक रूपमा गुरु पूर्णिमा विशेष सम्मान तथा शुभकामना कार्यक्रम सम्पन्न गरेको छ ।

सो अवसरमा विद्यार्थीहरूले आफ्ना गुरुहरूलाई खादा, फूलगुच्छा तथा मायाको चिनोस्वरूप उपहार प्रदान गरी सम्मान व्यक्त गरेका छन् । साथै केक काटेर गुरु पूर्णिमाको शुभकामना आदान प्रदान गरिएको थियो ।

क्याम्पसको सभाहलमा आज विहान आयोजित कार्यक्रममा बीबीएस तेस्रो तथा चौथो वर्षका विद्यार्थीको उत्साहपूर्ण सहभागिता रहेको थियो ।

एशोसिएसनका अध्यक्ष अञ्जन विश्वकर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहायक क्याम्पस प्रमुख अनन्त जीवन लुइँटेलको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा प्राध्यापकहरू घनश्याम ढकाल, ईश्वर लुइँटेल, विनोद गौतम, कमलप्रसाद फुयाल, कविता पौड्याल, प्रतीक न्यौपाने, स्वर्णिम भट्टराई, मञ्जला भट्टराई, रिता दङ्गाल, कुसुम अधिकारी, राजेन्द्र दाहाल लगायत अन्य शिक्षकहरूको उपस्थिति रहेको थियो ।

शिक्षकहरूले गुरु पूर्णिमाको महत्व, गुरु–शिष्य सम्बन्धको गरिमा, शिक्षा र जीवनका अनुभव तथा विद्यार्थीहरूको दायित्वबारे आफ्ना धारणा राख्नुभएको थियो । लामो समयदेखि क्याम्पसमा अध्यापनरत प्राध्यापकहरूले बीबीएस एसोसिएसनको औपचारिक आयोजनामा गुरु पूर्णिमा कार्यक्रम करिब २० वर्षयताकै पहिलो पटक सम्पन्न भएको उल्लेख गर्दै ऐतिहासिक र अनुकरणीय कार्यको संज्ञा दिनुभएको थियो ।

कार्यक्रमको समापन गर्दै अध्यक्ष अञ्जन विश्वकर्माले गुरु–शिष्यबीचको सम्मान, विश्वास र आत्मीय सम्बन्धलाई अझ मजबुत बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताउनुभयो । यस्ता रचनात्मक कार्यक्रमलाई आगामी वर्षहरूमा पनि निरन्तरता दिइने उहाँले जानकारी दिनुभयो ।

कार्यक्रमले क्याम्पसमा सकारात्मक शैक्षिक संस्कृतिको विकास तथा गुरु–शिष्य सम्बन्धलाई थप प्रगाढ बनाउन महत्वपूर्ण योगदान पु¥याउने सहभागीहरूले विश्वास व्यक्त गरेका छन् । कार्यक्रमको सञ्चालन एशोसिएसनकी सचिव जुनी श्रेष्ठले गर्नुभएको थियो ।

शेयर गर्नुहोस :

0
Shares