मुख्य समाचार

राज्यको उदासीनताका कारण कप्तानगन्ज जस्ता घटनाहरू दोहोरिए : लिङ्देन

राज्यको उदासीनताका कारण कप्तानगन्ज जस्ता घटनाहरू दोहोरिए : लिङ्देन


काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले धार्मिक संवेदनशीलता र परिस्थितिको गाम्भीर्यता बुझ्न सरकारलाई आग्रह गरेका छन् ।

सिंहदरबारमा आज आयोजित सर्वदलीय बैठकमा बोल्दै अध्यक्ष लिङ्देनले तराई–मधेशमा हिन्दु धर्मावलम्बीहरूका चाडपर्व र उत्सवका समयमा शृङ्खलाबद्ध रूपमा हिंसात्मक गतिविधि भइरहेको भन्दै गम्भीर चिन्ता व्यक्त गरे ।

रास्वपा सभापति रवि लामिछानेले बोलाएको बैठकमा बोल्दै लिङ्देनले यस्ता हिंसात्मक घटनाहरू योजनाबद्ध ढंगबाट भइरहेको दाबी गरे ।

उनले भने, ‘तराई–मधेशमा हिन्दुहरूको चाडपर्वमा सधैँ तनाव सिर्जना गर्ने र हिंसा भड्काउने काम भइरहेको छ । राज्यको निरन्तरको उदासीनताका कारण सुनसरीको कप्तानगन्ज जस्ता घटनाहरू दोहोरिएका छन्, जुन अत्यन्तै चिन्ताजनक छ ।’
कप्तानगन्ज घटनालाई भुसको आगोसँग तुलना गर्दै उनले यो देशभर फैलिनु अगावै यसको जडसम्म पुगेर दीर्घकालीन समाधान खोज्न सरकारलाई सुझाव दिए । लिङ्देनले तत्काल एक उच्चस्तरीय आयोग गठन गरी सरोकारवालाहरूसँग संवाद सुरु गर्न माग समेत गरेका छन् ।

‘यो हतारको र अति संवेदनशील विषय हो, यसमा ढिलासुस्ती गर्ने छुट सरकारलाई छैन,’ उनले भने ।

अध्यक्ष लिङ्देनले मोरङ जिल्ला प्रशासन कार्यालयले पुराण, सप्ताह वा धार्मिक अनुष्ठानहरूमा चर्को आवाज बजाउन निषेध गर्दै जारी गरेको सूचनाको कडा आलोचना गरे । उनले उक्त सूचनालाई अपरिपक्व र हिन्दु लक्षित भएको आरोप लगाए ।

‘अरु धर्मका कार्यक्रममा पनि चर्को आवाज बज्ने गरेको छ, तर प्रशासन त्यहाँ मौन बस्छ । यस्तो विभेदपूर्ण व्यवहारले इगो पैदा गर्छ। धार्मिक आस्थामाथि किन खेलवाड गरिँदैछ ?’ उनले प्रश्न गरे ।

कप्तानगन्ज घटनाका मृतकका परिवारलाई उचित राहत, क्षतिपूर्ति र न्यायको सुनिश्चितता गर्नुपर्ने तथा घाइतेहरूको प्रभावकारी उपचार गर्नुपर्नेमा उनले जोड दिए ।

प्रत्येक नेपालीले आफ्नो धर्म, संस्कृति र परम्पराको अभ्यास निर्वाध रूपमा गर्न पाउनु पर्ने संवैधानिक अधिकार रहेको स्मरण गराउँदै लिङ्देनले नागरिकले निर्भयपूर्वक अधिकार उपभोग गर्ने वातावरण राज्यले मिलाउनुपर्ने बताए ।

शेयर गर्नुहोस :

0
Shares