बिर्तामोड । सुनसरीमा भएको घटनापछि झापामा सामाजिक सद्भाव कायम गर्न जिल्ला प्रशासन कार्यालय झापाले सरोकारवालासँगको भेटघाट र छलफललाई प्राथमिकता दिएको छ ।
संभावित जोखिमलाई मध्यनजर गर्दै प्रमुख जिल्ला अधिकारीले सक्रियता बढाएका छन् । आज दिउँसो झापाली सञ्चारकर्मीसँगको भेटमा प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले मुस्लिम बस्तीहरुमा पुगेर आवश्यक भेटघाट तथा सहजीकरण गरिरहेको जानकारी दिए ।

उनले कचनकवल र झापा गाउँपालिकामा रहेको मुस्लिम बस्तीमा पुगेर स्थानीय अगुवा तथा धार्मिक गुरुहरुसँग समेत भेटघाट तथा छलफल गरेको जानकारी दिए । तल्लो तहसम्म सद्भाव कायम गर्न सहजीकरण गरिरहेको उनको भनाई थियो । जिल्ला प्रशासनले झापाका १५ वटै पालिकाका प्रमुखहरुसँग छलफल समेत छलफल गरिसकेको छ । उनले तल्लो तहसम्म सद्भाव बैठकहरु आयोजना गर्न आग्रह गरिएको जानकारी दिए ।
झापामा संभावित जोखिमलाई मध्यनजर गर्दै सुरक्षा निकायलाई समेट हाइअलर्टमा राखिएको प्रजिअ गेलालको भनाई छ । उनले सामाजिक सञ्जालमा आउने भ्रमका पछि नलाग्न जनसमुदायलाई आग्रह गरेका छन् । गलत सूचनाहरुलाई खण्डन गर्न सञ्चारकर्मीसँग उनको आग्रह थियो ।
धार्मिक गुरुहरुले सामाजिक सद्भाव कायम गर्न सहयोग गर्ने बताएको प्रजिअ गेलालको भनाई छ ।







प्रतिक्रिया