Banner news

सुनसरीको जनजीवन सामान्यतर्फ उन्मुख

सुनसरीको जनजीवन सामान्यतर्फ उन्मुख


सुनसरी – दुई समूदायको असमझदारीका कारण गएको आइतबार रातिदेखि तनावमा रहेको सुनसरीको दक्षिणी क्षेत्रको जनजीवन सामान्य बन्दै गएको छ ।

अस्ति मंगलबार रातिसम्म झडप र तनावको स्थिति रहे पनि हिजोदेखि अवस्था केही सामान्य बन्न थालेको हो । स्थानीय प्रशासनले कफ्र्यू आदेश कायमै राखेको छ । देवानगञ्जको कप्तानगञ्जमा भएको घटनापछि उत्पन्न तनावलाई मध्यनजर गर्दै जिल्लाका राजनीतिक दल, जनप्रतिनिधि, नागरिक समाज तथा विभिन्न संघ संस्थाका प्रतिनिधिहरूले शान्ति, सद्भाव र सामाजिक एकता कायम गर्न ५ बुँदे संयुक्त प्रतिबद्धता सार्वजनिक गरेका छन्।

उनीहरुले विभिन्न क्षेत्रमा देखिएको साम्प्रदायिक विवाद, हिंसा र हुलदङ्गाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै यस्ता अवाञ्छित गतिविधि रोक्न सबै पक्षले आ–आफ्नो ठाउँबाट सक्रिय भूमिका खेल्ने प्रतिबद्धता जनाएका छन् । आक्रोश र प्रतिशोधको भावनाभन्दा संयम, विवेक र संवादमार्फत समस्या समाधान गर्नुपर्नेमा जोड दिँदै सबैलाई संयमित रहन आग्रह गरिएको छ ।

सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री नफैलाउन, आधिकारिक सूचना मात्र विश्वास गर्न र अफवाहको पछि नलाग्न पनि अनुरोध गरिएको छ । यस्तै प्रमुख राजनीतिक दलहरूले सुनसरीमा भएको घटना र त्यसपछिको परिस्थितिलाई शान्तिपूर्ण संवादबाट समाधान गर्न अपिल गरेका छन् । कोशी प्रदेश सरकारले घटनामा ज्यान गुमाउनेका परिवार र घाइतेहरूका लागि राहत प्रदान गर्ने निर्णय गरेको छ ।

शेयर गर्नुहोस :

0
Shares