Banner news

लागुऔषधमुक्त समाज बनाउन एकजुट बनौं : नगर प्रमुख प्रसाई

लागुऔषधमुक्त समाज बनाउन एकजुट बनौं : नगर प्रमुख प्रसाई


बिर्तामोड । बिर्तामोड नगरपालिकाका सामुदायिक तथा संस्थागत विद्यालयलाई ‘लागुऔषधविरुद्ध झापा अभियान’ अन्तर्गत सचेतनामूलक पोस्टर हस्तान्तरण गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाको सहकार्य तथा बिर्तामोड नगरपालिकाको आयोजनामा सम्पन्न कार्यक्रममा झापा प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) वसुन्धरा खड्काले नगर प्रमुख पवित्रा महतारा प्रसाईलाई पोस्टर हस्तान्तरण गर्नुभयो । त्यसपछि ती पोस्टर विद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरूलाई वितरण गरिएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख प्रसाईले समाजलाई लागुऔषधमुक्त बनाउन जनप्रतिनिधि, शिक्षक तथा सामाजिक संघसंस्थाहरू एकजुट भएर लाग्नुपर्ने आवश्यकता रहेको बताउनुभयो । उहाँले जिल्लाका १५ वटै स्थानीय तहले यस्ता अभियानलाई सहयोग गर्नुपर्ने उल्लेख गर्दै लागुऔषध नियन्त्रणमा नेपाल प्रहरीको भूमिका प्रशंसनीय रहेको धारणा व्यक्त गर्नुभयो ।

त्यसैगरी जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक वसुन्धरा खड्काले लागुऔषध दुव्र्यसन नियन्त्रणका लागि जिल्लाभर विभिन्न सचेतनामूलक तथा नियन्त्रणात्मक कार्यक्रम सञ्चालन भइरहेको जानकारी दिनुभयो ।
उहाँका अनुसार हालसम्म जिल्लाका ७१ वटा प्रहरी युनिटका फोकल पर्सनलाई तालिम प्रदान गरिसकिएको छ । अब शिक्षकहरूका लागि विशेष तालिम सञ्चालन गरिने र युवालाई लक्षित गर्दै फुटबल प्रतियोगितामार्फत पनि अभियान अघि बढाइनेछ । शिक्षकहरूलाई लागुऔषध दुव्र्यसनका प्रारम्भिक लक्षण पहिचान, आधारभूत परामर्श तथा आवश्यक सहयोगका विषयमा प्रशिक्षण दिइने उहाँले बताउनुभयो ।

प्रहरी उपरीक्षक खड्काका अनुसार जिल्ला प्रहरी कार्यालय झापाले गत असार १ गतेदेखि ११ गतेसम्म सञ्चालन गरेको लागुऔषधविरुद्धको ‘स्विप अपरेसन’ अन्तर्गत ६ सयभन्दा बढी लागुऔषध दुव्र्यसनीलाई नियन्त्रणमा लिइएको थियो ।
कार्यक्रममा बिर्तामोड नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सागर मिश्रले विद्यार्थीलाई सही मार्गमा हिँडाउने महत्वपूर्ण जिम्मेवारी शिक्षकको भएकाले विद्यालयलाई अभियानको केन्द्र बनाइएको बताउनुभयो । उहाँले अभियान सफल बनाउन सबै पक्षको सहकार्य अपरिहार्य रहेकोमा जोड दिनुभयो ।

यस्तै नगरपालिकाका शिक्षा शाखा प्रमुख उपसचिव तिलचन भण्डारी र वरिष्ठ योजना अधिकृत जय तिम्सिनाले लागुऔषधविरुद्धको अभियानमा सबै क्षेत्रबाट सक्रिय सहभागिता जनाउन आग्रह गर्नुभयो ।

प्रहरीका अनुसार हाल झापामा थुनामा रहेका ९३ जनामध्ये करिब ८० प्रतिशत लागुऔषधसम्बन्धी मुद्दाका अभियुक्त रहेका छन् । आर्थिक अपराधपछि जिल्लामा सबैभन्दा धेरै दर्ता हुने मुद्दा लागुऔषधसम्बन्धी रहेको जनाइएको छ । जिल्लाका सबै स्थानीय तह लागुऔषधको जोखिममा रहेको प्रहरीको निष्कर्ष छ ।

जिल्ला प्रहरी कार्यालय झापाले अभियानअन्तर्गतका कार्यक्रम अर्जुनधारा, शिवसताक्षी र बिर्तामोड नगरपालिकामा सम्पन्न गरिसकेको जनाएको छ ।

शेयर गर्नुहोस :

0
Shares