मुख्य समाचार

सिरहा घटना : मृत्यु भएका गणेश यादवको घाँटीमै गोली

सिरहा घटना : मृत्यु भएका गणेश यादवको घाँटीमै गोली


काठमाडौं । सिरहाको गोलबजारमा बिहीबार दिउँसो प्रदर्शनका क्रममा सुरक्षाकर्मीको गोली लागेर एक युवकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा गोलबजार नगरपालिका–३ निवासी गणेश यादव रहेका छन् । यादवको घाँटीमै गोली लागेको खुलेको छ ।

सामान्यतः भीड नियन्त्रणका क्रममा प्रहरीले हवाई फायर गर्ने वा बाध्यात्मक अवस्थामा तिघ्राभन्दा तल गोली चलाउने गरिन्छ । तर गोलबजारमा भएको घटनामा यादवको घाँटीमै गोली लागेको देखिएपछि सुरक्षाकर्मीको बल प्रयोगबारे प्रश्न उठ्न थालेको छ ।

बिहीबार कर्फ्यू आदेश लागू गरिएको अवस्थामै प्रदर्शन चर्किएपछि स्थिति नियन्त्रणमा लिन सुरक्षाकर्मीले गोली चलाएको जनाएको छ ।

उक्त घटनामा गणेश यादवको ज्यान गएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन् । उनको उपचार भइरहेको छ ।

सुनसरीको कप्तानगञ्जमा केही दिनअघि भएको घटनाको विरोधमा गोलबजार क्षेत्रमा बिहीबार बिहानदेखि युवाहरूले प्रदर्शन गरेका थिए ।

प्रदर्शनका क्रममा सुरक्षाकर्मी र प्रदर्शनकारीबीच तनाव बढेपछि अवस्था नियन्त्रणबाहिर जाने संकेत देखिएसँगै प्रहरीले बल प्रयोग गरेको बताइएको छ ।

घटनापछि गोलबजार क्षेत्रको सुरक्षा व्यवस्था थप कडा पारिएको छ । प्रशासनले यसअघि नै कर्फ्यू आदेश जारी गरेको थियो भने घटनापछि थप सुरक्षाकर्मी परिचालन गरिएको छ । बजार क्षेत्र तनावग्रस्त बनेको छ ।

शेयर गर्नुहोस :

0
Shares