बिर्तामोड । नेपाली युवा उद्यमी मञ्च (एनवाइइएफ) झापाको अध्यक्षमा मिजास पोखरेल चयन भएका छन् । बिर्तामोडको होटल द किंग्सबेरीमा भएको तेस्रो अधिवेशनबाट अध्यक्षमा पोखरेल चयन भएका हुन् । झापा शाखाको संस्थापक सदस्य पोखरेल प्रथम उपाध्यक्ष हुँदै अध्यक्षको जिम्मेवारी पाएका छन् ।

झापा च्याप्टरको नयाँ कार्यसमितिको प्रथम उपाध्यक्षमा सुरज चौधरी र द्वितीय उपाध्यक्षमा अजित ढुंगाना चयन भएका छन् । चौधरी कार्यसमितिको सचिव र ढुंगाना कोषाध्यक्षको रुपमा रहनेछन् । उनीहरु दुवै जना बिर्तामोडका व्यवसायी हुन् ।
त्यस्तै, समितिको कार्यकारिणी सदस्यमा विशाल बिमली, मनिष साहेवाला, विकास अग्रवाल, आयुष बजगाईं, आशिष शर्मा, उत्सव उप्रेती, निरज चौधरी, सौभाग्य थापा र प्रनिसा बराल रहेका छन् ।
मञ्चका अध्यक्ष गणेश पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा निवर्तमान अध्यक्ष तथा निर्वाचन अधिकृत रुपेशजंग बेलबासेले नयाँ कार्यसमितिको नाम घोषणा गरेका थिए । संस्थापक अध्यक्ष प्रवेश बस्नेतले संस्था गठनको औचित्य र हालसम्म भएका गतिविधिबारे प्रकाश पारेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य तथा संस्थाका पूर्वसदस्य मनिष झा, मञ्चका राष्ट्रिय अध्यक्ष सुदिप घिमिरे, बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपानेले शुभकामना व्यक्त गरेका थिए ।

झापामा तीन वर्षअघि गठन भएको मञ्चमा आलसम्म ७५ जना युवा व्यवसायी तथा उद्यमीहरू आबद्ध रहेका छन् । सन् २००३ मा स्थापना भएको मञ्चमा कोशी प्रदेशमा झापा, मोरङ, सुनसरीसहित देशभरिमा १५ वटा शाखा रहेका छन् । १२ औँ शाखाको रुपमा झापा शाखा स्थापना भएको हो ।
नेपाली युवा उद्यमी मञ्च सार्क युवा उद्यमी मञ्च र विश्व युवा उद्यमी मञ्चको संस्थापक सदस्य हो । त्यसैगरी, कमनवेल्थ एसिया एलाइन्स अफ योङ एन्टरप्रेनर्सको पर्यवेक्षक सदस्य हो । मञ्च नेपाल उद्योग वाणिज्य महासंघद्वारा प्रबद्र्धक संस्था भएको जनाइएको छ ।
मञ्चमा २० वर्ष देखि ४० वर्ष उमेर समूहका युवा व्यवसायीहरू आबद्ध हुन सक्ने प्रावधान रहेको छ ।
नेपाली उत्पादनलाई प्रोत्साहन गर्ने र युवा व्यवसायीहरूलाई व्यवसाय र उद्यमशीलताको बारेमा प्रशिक्षण तथा अवसरहरू प्रदान गर्ने उद्देश्यले मञ्च गठन गरिएको अध्यक्ष पोखरेलले बताए ।







प्रतिक्रिया