विराटनगर । सामाजिक र धार्मिक सहिष्णुता कायम राख्ने उद्देश्यका साथ शुक्रबार कोशी प्रदेशको राजधानी विराटनगरमा भव्य सद्भाव र्याली निकालिएको छ ।
पछिल्लो समय विकसित घटनाक्रमलाई मध्यनजर गर्दै ‘सद्भाव नै हाम्रो धर्म, एकता नै हाम्रो शक्ति’ भन्ने मूल नाराका साथ विभिन्न क्षेत्रका व्यक्तिहरु सडकमा उत्रिए । शुक्रबार बिहान युवाहरुको एक समूहले विराटनगर बजार बन्द गराएपछि उत्पन्न असहज परिस्थितिका बीच नागरिक समाज र विभिन्न संघ संस्थाहरुले शान्ति र एकताको सन्देश दिन र्याली आयोजना गरेका हुन् ।

‘बहुल जाति, भाषा, धर्म, संस्कृति छन् विशालः अग्रगामी राष्ट्र, जय जय नेपाल’ लेखिएको मुख्य ब्यानरका साथ निकालिएको र्यालीले विराटनगर बजारको परिक्रमा गरेको थियो । विराटनगरको मुख्य चोक महेन्द्र चोकबाट सुरु भएको उक्त शान्तिपूर्ण र्याली ट्राफिक चोक, मेनरोड, जलजला चोक र गोल्छा चोक हुँदै जिल्ला प्रशासन कार्यालयको गेटमा पुगेर समापन भएको थियो ।
र्यालीमा राजनीतिक दलका प्रतिनिधि, नागरिक समाजका अगुवा, विभिन्न धार्मिक तथा सामाजिक संघसंस्थाका प्रतिनिधि, युवा, विद्यार्थी, उद्योगी, व्यवसायीका साथै विभिन्न धार्मिक समुदायका नागरिकहरुको उत्साहजनक सहभागिता रहेको थियो । सहभागीहरुले हातमा राष्ट्रिय झण्डा बोकेर आपसी प्रेम, भ्रातृत्व र सामाजिक सद्भाव कायम राख्न अपिल गरेका थिए ।
कार्यक्रमका सहभागीहरुले समाजमा कुनै पनि बहानामा हुने विभाजन र द्वन्द्वले कसैको हित नगर्ने भन्दै सबै जातजाति र धर्मबीचको एकता नै मुलुकको वास्तविक शक्ति भएको बताएका छन् । बजार बन्दका कारण केही समय त्रसित बनेका स्थानीयमा सद्भाव र्यालीले सकारात्मक ऊर्जा र शान्तिको सन्देश प्रवाह गरेको विश्वास गरिएको छ ।
उनीहरुले विराटनगर सधैं सद्भावको सहर रहेको र यसको यो पहिचानलाई कसैले पनि बिगार्न नहुनेमा जोड दिएका थिए ।







प्रतिक्रिया