काठमाण्डौ — सुनसरीको देवानगञ्ज घटनापछि तराई–मधेशका विभिन्न ठाउँमा एक हप्तादेखि भैरहेको तनाव बिस्तारै सामान्य बन्न थालेको छ । विभिन्न जिल्लामा सद्भाव र्याली निकालिएको छ भने विभिन्न धार्मिक अगुवाहरुले सामाजिक र साम्प्रदायिक सद्भाव कायम राख्न अपिल गरेका छन् ।
प्रधानमन्त्रीसहित सत्तारुढ रास्वपा र अरु दलका नेता तथा सामाजिक संघसंस्थाका प्रतिनिधिहरुले तनाव कम गर्नको लागि संवाद बढाएका छन् । नेपाली सेनासहित तीनवटै सुरक्षा निकायको समन्वय र सहकार्यमा सुरक्षा फौजको प्रभावकारी परिचालनपछि शान्ति सुव्यवस्था क्रमशः सहज हुँदै गइरहेको छ ।
नेपाली सेनाको पूर्वी पृतनापति गौरवकुमार केसीले प्रभावित क्षेत्रमा शान्ति सुरक्षा सामान्यीकरणतर्फ उन्मुख भइरहेको र सुरक्षा फौज ‘हाई अलर्ट’मा रहेको बताउनुभएको राससले जनाएको छ ।
गृहमन्त्री सुधन गुरुङले घटनास्थलमा पुगेर पीडित परिवारसँग सहमति र घाइतेसँग भेटवार्ता गरेपछि अवस्था सामान्य बनाउन सहज भएको सुरक्षा अधिकारीको विश्लेषण छ । देवानगञ्जको कप्तानगञ्जमा गोली लागेर ज्यान गुमाएका दुई युवकको शव घटनाको पाँच दिनपछि उठेको छ ।
सरकार र पीडित परिवारबीच ७ बुँदे सहमति भएपछि हिजो आफन्तले शव बुझेका हुन् । तीनवटै सुरक्षा निकायले घटनाका बारेमा सुक्ष्म विश्लेषण, अध्ययन र निगरानी गर्ने काम गरिरहेका छन् । सुनसरी, धनुषा, सिरहा र पर्साका केही ठाउँमा कर्फ्यु र निषेधाज्ञा कायमै छ ।
अवस्था सहज भएपछि कर्फ्यु र निषेधाज्ञा खुकुलो बनाउँदै जाने स्थानीय प्रशासनले जनाएका छन् । कप्तानगन्जमा भएको घटनापछि उत्पन्न परिस्थितिलाई मध्यनजर गरी सुरक्षा व्यवस्थापनको लागि प्रहरीका उच्च अधिकृतलाई मधेशका जिल्लामा जिम्मेवारी तोकिएको छ ।







प्रतिक्रिया