फादर जगत बहादुर वाग्ले
‘धन्य मेलमिलाप गराउनेहरू, किनकि तिनीहरू परमेश्वरका सन्तान कहलाइनेछन् ’
आज हाम्रो मातृभूमि अत्यन्तै संवेदनशील र चुनौतीपूर्ण परिस्थितिबाट गुज्रिरहेको छ । यस्तो विषम घडीमा हामी, स्थानीय सरकारदेखि संघीय सरकारसम्मका जनप्रतिनिधि ज्यूहरू, विभिन्न आस्था र परम्पराका पूजनीय धर्मगुरुहरू, सुरक्षा निकायका आदरणीय अधिकारीहरू, न्यायका संरक्षकज्यूहरू, नागरिक समाजका अगुवा ज्यूहरू, सञ्चार जगतका आदरणीय पत्रकार ज्यूहरू, बुद्धिजीवीहरू, सामाजिक अभियन्ताहरू तथा सम्पूर्ण नेपाली दाजुभाइ–दिदीबहिनीहरूलाई राष्ट्रिय उत्तरदायित्वको भावना र सद्भावसहित एकताबद्ध हुन अति आवश्यक छ ।
इतिहासका केही क्षणहरू यस्ता हुन्छन्, जहाँ मौन बस्नु पनि एउटा निर्णय हुन्छ । आज त्यही क्षण हाम्रो सामु खडा भएको छ । अहिले एकअर्कालाई दोषारोपण गर्ने समय हैन, समाधान खोज्ने समय हो, विभाजन बढाउने समय होइन, विश्वासलाई पुनःस्थापित गर्ने समय हो, आक्रोश फैलाउने समय होइन, आशा जगाउने समय हो । इतिहासले हाम्रो काँधमा सुम्पिएको नैतिक दायित्वलाई इमानदारीपूर्वक निर्वाह गर्दै सत्य, न्याय, शान्ति र राष्ट्रिय एकताको पक्षमा दृढतापूर्वक उभिनु आजको सबैभन्दा ठूलो आवश्यकता भएको छ ।

जब निर्दोष नागरिकहरूको रगत बग्छ, आमाबुबाले आफ्ना सन्तान गुमाउँछन्, बालबालिकाले भविष्यप्रतिको भरोसा गुमाउँछन् र समाज भय, असुरक्षा तथा अन्योलले आक्रान्त हुन्छ, त्यस्तो बेला सबैभन्दा शक्तिशाली आवाज कुनै हतियारको हुँदैन, यस्तोबेला शक्तिशाली, आवाज त प्रेमको आवाज हुन्छ, शान्तिको आवाज हुन्छ, विवेकको आवाज हुन्छ र मानवताको पक्षमा बोल्ने अन्तरात्माको आवाज हुन्छ ।
आज कसैले आफ्नो प्रियजन गुमाएका छन्, कसैले आफ्नो घरबार, कसैले आफ्नो व्यवसाय र धेरैले सुरक्षित भविष्यप्रतिको विश्वास नै गुमाएका छन् । यस्ता पीडादायी क्षणहरूमा यदि हामीले घृणाको उत्तर घृणाले, हिंसाको उत्तर हिंसाले र प्रतिशोधको उत्तर प्रतिशोधले दियौँ भने राष्ट्रको घाउ अझ गहिरो बन्छ । तर यदि हामीले प्रेम, क्षमा, संयम, सहिष्णुता र संवादलाई अँगाल्यौँ भने यही सद्भावले विग्रहका ज्वालाहरूलाई शान्त पार्न सक्छ ।
धर्मको मूल उद्देश्य भनेको मानिसहरुलाई परमेश्वरसँग जोड्नु, सत्य र धार्मिकताको मार्गमा डो¥याउनु, प्रेम, दया, करुणा र क्षमाको जीवन बाँच्न सिकाउनु हो । कुनै पनि सच्चा धर्मले निर्दोषको हत्या गर्न, घृणा फैलाउन वा प्रतिशोधलाई धर्मको नाम दिन सिकाउँदैन । जहाँ मानवता रोइरहेको हुन्छ, त्यहाँ सबै धर्मका सच्चा अनुयायीहरू मानवताको पक्षमा एउटै पङ्क्तिमा उभिनुपर्छ । यही नै धर्मको वास्तविक महिमा हो, यही नै आध्यात्मिकताको सर्वोच्च अभिव्यक्ति हो ।
हामी सबैले पवित्र धर्मशास्त्रको यो अमूल्य शिक्षालाई श्रद्धापूर्वक स्मरण गरौ । ‘धन्य मेलमिलाप गराउनेहरू, किनकि तिनीहरू परमेश्वरका सन्तान कहलाइनेछन् ।’
यो वचन कुनै एउटा धर्म, समुदाय वा एउटा राष्ट्रका लागि मात्र होइन, शान्ति, सत्य, न्याय र मानव गरिमालाई प्रेम गर्ने सम्पूर्ण मानवजातिका लागि परमेश्वरको सार्वकालिन आह्वान हो । शान्ति भनेको युद्ध वा हिंसाको अन्त्य मात्र होइन, शान्ति भनेको न्यायको स्थापना, प्रत्येक व्यक्तिको सम्मानको संरक्षण, परस्पर विश्वासको पुनर्निर्माण र विविधताबीच प्रेमपूर्ण सहअस्तित्वको संस्कृति विकास हुनु हो ।
यसैले आज हामी सम्पूर्ण नेपाली जनसमुदायलाई विनम्रतापूर्वक आह्वान गर्दछौँ, कुनै पनि अफवाह, उक्साहट, घृणा, धार्मिक असहिष्णुता वा हिंसात्मक मानसिकताको पछि नलागौँ । बरु सत्यको खोजी गरौँ, कानूनको सम्मान गरौँ, एक–अर्काको पीडालाई आफ्नै पीडा ठानौँ र राष्ट्रको शान्ति, सद्भाव तथा समृद्धिका लागि हातेमालो गरौँ ।
परमेश्वरले नेपाल देशलाई शान्ति प्रदान गरून् । परमेश्वरले सम्पूर्ण पीडित परिवारहरूलाई सान्त्वना प्रदान गरून् । परमेश्वरले हाम्रा मान्य नेताहरूलाई सत्य, न्याय र विवेकका साथ निर्णय गर्ने बुद्धि प्रदान गरून् । परमेश्वरले हामी सबैलाई मेलमिलापका वाहक, प्रेमका सन्देशवाहक र राष्ट्रिय एकताका जिम्मेवार नागरिक बन्ने अनुग्रह प्रदान गरून् ।
“राष्ट्र तब मात्र बलियो बन्छ, जब त्यसका नागरिकहरू आस्था फरक भए पनि हृदयले एउटै राष्ट्र, एउटै मानवता र एउटै शान्तिको पक्षमा उभिन्छन् ।
(लेखक यरुशलेम बिलिभर्स इस्टर्न चर्च भद्रपुर झापाका फादर हुनुहुन्छ ।)







प्रतिक्रिया