Banner news

काँकरभिट्टाबाट १९ लाखको अवैध सामानसहित बरामद

काँकरभिट्टाबाट १९ लाखको अवैध सामानसहित बरामद


झापा । झापाको मेचीनगरबाट सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोलीले ठूलो परिमाणमा भारतबाट भन्सार छली ल्याइएका अवैध लत्ताकपडा, कस्मेटिक तथा हार्डवेयरका सामानहरू बरामद गरेको छ ।

मेचीनगर नगरपालिका–७ स्थित सुन्दर टोल निवासी कोपिला तामाङको घरमा लुकाएर राखिएको अवस्थामा ती सामानहरू बरामद गरिएको हो । विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म काँकडभिट्टाका सशस्त्र प्रहरी नायव निरीक्षक यादव पोखरेलको कमाण्डमा १३ जना र इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी नायव निरीक्षक लालबहादुर थापाको कमाण्डमा ११ जना गरी २४ जनाको संयुक्त टोलीले मंगलबार राति तामाङको घरमा खानतलासी गरेको थियो ।

खानतलासीका क्रममा भारतबाट अवैध रूपमा भन्सार छलेर ल्याई भण्डारण गरी राखिएका लत्ताकपडा, कस्मेटिक सामान र हार्डवेयरका सामग्रीहरू फेला परेका थिए ।

बरामद गरिएका सम्पूर्ण सामानहरू आवश्यक कारबाहीका लागि मेची भन्सार कार्यालय काँकडभिट्टामा बुझाइएको छ । भन्सार कार्यालयले ती सामानको कुल मूल्यांकन १८ लाख ७४ हजार ९ सय १० रुपैयाँ कायम गरेको सशस्त्र प्रहरी बल, नेपाल नं. २ गण हेडक्वाटर झापाका निमित्त गणपति सशस्त्र प्रहरी नायव उपरीक्षक मदनकुमार रसाइलीले जानकारी दिनुभयो ।

निमित्त गणपति डिएसपी रसाइलीका अनुसार सीमा क्षेत्रबाट हुने अवैध चोरी निकासी तथा पैठारीजन्य गतिविधि नियन्त्रण गर्न सशस्त्र प्रहरीले आफ्नो सक्रियता र गस्तीलाई निरन्तरता दिँदै आएको छ ।

शेयर गर्नुहोस :

0
Shares