बिर्तामोड । नेपाल पत्रकार महासंघ झापाले प्रमुख जिल्ला अधिकारी शिवराम गेलाललाई ज्ञापनपत्र बुझाउदै एक साताको अल्टिमेटम दिएको छ ।
आज महासंघ झापाका उपाध्यक्ष सुब्रत न्यौपानको नेतृत्वमा प्रशासन कार्यालय पुगेको टोलीले प्रजिअ गेलाललाई ज्ञापनपत्र बुझाउदै अल्टिमेटम दिएको हो । टोलीमा महासंघका पदाधिकारी, सदस्य, संघ संगठनका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

नेपाल पत्रकार महासंघ झापा शाखा, संस्थाका पदाधिकारीसहित सक्रिय पत्रकारविरुद्ध अफवाह फैल्याउने हल्दिवारी – १ का नितेश ओली (नवराज) लाई पक्राउपुर्जी जारी भएको ३६ दिन वितिसक्दा पनि पक्राउ नगरेपछि अल्टिमेटमसहित ज्ञापनपत्र बुझाएको हो । जिल्ला प्रहरी कार्यालय झापामा नेपाल पत्रकार महासंघ झापाले २०८३ असार १५ गते साइवर अपराध मुद्धामा जाहेरी दर्ता गराएको थियो । जाहेरी दर्तापछि ओलीविरुद्ध सोही दिन झापा जिल्ला अदालतबाट पक्राउपुर्जी जारी भएको थियो ।
पक्राउपुर्जी जारी भएपछि ओलीलाई पक्राउ गर्न प्रहरीले देखाएको उदासिनतापछि महासंघले ज्ञापनपत्र बुझाउदै गृह मन्त्रालय र पत्रकार महासंघका उपल्लो समितिलाई बोधार्थ पठाएको छ ।
त्यसअघि नेपाल पत्रकार महासंघ झापा शाखा र पदाधिकारीहरूलाई सामाजिक सञ्जालमार्फत ज्यान मार्ने धम्की दिने तथा चरित्र हत्या गर्ने कार्यमा संलग्न ओलीलाई तत्काल पक्राउ गरी कारबाही गर्न महासंघले विज्ञप्ति जारी गर्दै जोडदार माग गरेको थियो । पक्राउ पुर्जी जारी भएको एक महिना बितिसक्दा पनि अभियुक्तलाई कानुनी दायरामा ल्याउन नसकेको भन्दै महासंघले प्रहरी प्रशासनलाई एक साताको अल्टिमेटम दिएको छ ।
झापाको हल्दिबारी गाउँपालिका–१ निवासी ओलीले पत्रकार महासंघ, संस्थाका अध्यक्ष तथा पदाधिकारीहरूलाई लक्षित गरी म्यासेन्जर र फेसबुकमार्फत भ्रामक सामग्री सम्प्रेषण गर्नुका साथै ज्यान लिने धम्की दिइरहेको महासंघ झापाका सचिव प्रदिप परियारद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । पत्रकारिता पेसासँग कुनै आबद्धता नरहेका ओलीले यसअघि आफूलाई पत्रकार भन्दै विभिन्न सञ्चारमाध्यमको नाम लिएर उद्योगी–व्यवसायीहरूसँग रकम माग्ने र हैरानी दिने गरेको विज्ञप्तिमा जनाइएको छ । सो विषयमा उजुरी परेकाले महासंघले विज्ञप्तिमार्फत सचेत गराए पनि उनले लगातार महासंघ र पदाधिकारीहरूविरुद्ध कपोलकल्पित र भ्रामक सामग्री पोस्ट गर्दै मानमर्दन गर्दै आएका छन् ।
पत्रकार महासंघले ओलीलाई सचेत गराउदै विज्ञप्ति जारी गरेपछि उनी महासंघ विरुद्ध अफवाह फैल्याउन सक्रिय रहेका छन् ।
अदालतबाट पक्राउ पुर्जी जारी भई फरार रहेका व्यक्ति २४ सै घण्टा ह्वाट्सएप, म्यासेन्जर र फेसबुकमा सक्रिय रहेर धम्की दिइरहँदासमेत प्रहरीले पक्राउ गर्न नसक्नुले प्रहरीको कार्यक्षमता र भूमिकामाथि नै गम्भीर शंका उत्पन्न भएको महासंघको भनाइ छ ।
विभिन्न माध्यमबाट ज्यान लिने धम्की दिइनुले सुरक्षा चुनौती थपिएको भन्दै महासंघले जिल्ला प्रहरी कार्यालय र प्रमुख जिल्ला अधिकारीलाई पटक–पटक ध्यानाकर्षण गराइसकेको जनाएको छ । साथै महासंघ केन्द्रीय समिति र कोशी प्रदेश समितिले पनि सम्बन्धित निकायको ध्यानाकर्षण गराइसकेका छन् ।
अभियुक्तलाई तत्काल पक्राउ गरी सामाजिक सञ्जालमार्फत भइरहेका अवाञ्छित गतिविधि रोक्न र दण्डहीनताको अन्त्य गर्न सरकारसँग माग गर्दै प्रहरीले एक साताभित्र ओलीलाई कानुनी दायरामा नल्याए महासंघ सशक्त कदम चाल्न बाध्य हुने चेतावनी विज्ञप्तिमार्फत दिइएको छ ।







प्रतिक्रिया