मुख्य समाचार

अभियुक्त ओलीलाई तत्काल पक्राउ गर्न झापाका पत्रकार सम्बद्ध संगठनहरूको माग

अभियुक्त ओलीलाई तत्काल पक्राउ गर्न झापाका पत्रकार सम्बद्ध संगठनहरूको माग


बिर्तामोड । झापामा क्रियाशील विभिन्न पत्रकार सम्बद्ध संघ–संगठनहरूले साइबर अपराध तथा ज्यान मार्ने धम्कीको आरोप लागेका फरार अभियुक्त नितेश ओली (नवराज) लाई तत्काल पक्राउ गर्न माग गरेका छन् ।
आज संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै पक्राउ गर्न माग गरेका हुन् ।

जिल्ला अदालत झापाबाट पक्राउ पुर्जी जारी भइसक्दा पनि प्रहरीले निजलाई नियन्त्रणमा लिन ढिलासुस्ती गरेको भन्दै १० वटा पत्रकार संगठनहरूले प्रहरी प्रशासनको कार्यशैली र भूमिकामाथि गम्भीर प्रश्न उठाएका हुन् । झापाको हल्दिबारी गाउँपालिका–१ बस्ने नितेश ओलीले केही समयदेखि सामाजिक सञ्जाल फेसबुक तथा म्यासेन्जर मार्फत नेपाल पत्रकार महासंघ झापाका पदाधिकारी तथा सक्रिय पत्रकारहरूको चरित्र हत्या गर्ने, भ्रामक सामग्री सम्प्रेषण गर्ने र ज्यान लिनेसम्मको धम्की दिँदै आएको विज्ञप्तिमा उल्लेख छ ।

पत्रकारिता पेशामा नरहेका ओलीले सञ्चार क्षेत्रको आवरणमा दिने गरेको हैरानीका विषयमा यसअघि नै सचेत गराए पनि उनले निरन्तर तथ्यहीन र कपोलकल्पित विषय उठाएर मानमर्दन जारी राखेका थिए ।

उक्त घटनाका सम्बन्धमा जिल्ला प्रहरी कार्यालय झापामा संस्थागत रूपमा जाहेरी दर्ता भई अदालतबाट पक्राउ पुर्जीसमेत जारी भइसकेको छ । यद्यपि, अभियुक्तले निरन्तर सामाजिक सञ्जालबाट ज्यानसम्म लिने धम्की दिइरहँदा समेत प्रहरीले पक्राउ गर्न नसक्नुले सुरक्षा चुनौती थपिएको र दण्डहीनताले प्रश्रय पाएको सञ्चारकर्मीहरूको ठहर छ ।

पत्रकार महासंघले प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी कार्यालयलाई पटक–पटक ध्यानाकर्षण गराउँदा पनि अभियुक्तलाई कानुनी दायरामा ल्याउन नसक्नुले प्रहरीको क्षमता र भूमिकामाथि नै शंका उत्पन्न गराएको विज्ञप्तिमा जनाइएको छ ।

संयुक्त विज्ञप्तिमा नेपाल प्रेस युनियन झापाका सभापति गिरीराज भट्टराई, प्रेस चौतारी नेपाल झापाका अध्यक्ष प्रदिप परियार, प्रेस सेन्टर नेपाल झापाका अध्यक्ष पुष्प खड्का, नारी सञ्चार गृह झापाकी अध्यक्ष स्वस्तिका आचार्य, नेपाल चलचित्र पत्रकार संघ झापाका अध्यक्ष एकराज प्रधान, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) झापाका अध्यक्ष अर्जुन राजवंशी, पर्यटन पत्रकार संघ झापाका अध्यक्ष विनोद पाण्डे, स्वतन्त्र पत्रकार संघ झापाका अध्यक्ष नरेन्द्र ढकाल, खेलकुद पत्रकार संघ झापाका अध्यक्ष इन्द्रजित मुखिया र फोटो पत्रकार संघ झापाका अध्यक्ष नेत्रविक्रम विमलीले हस्ताक्षर गर्नुभएको छ ।

उहाँहरूले अभियुक्तलाई तत्काल पक्राउ गरी कानुनी कारबाही गर्न, सामाजिक सञ्जालमार्फत भइरहेका भ्रामक तथा अवाञ्छित गतिविधि रोक्न र दण्डहीनताको अन्त्य गर्न जोडदार माग गर्नुभएको छ ।

शेयर गर्नुहोस :

0
Shares