मुख्य समाचार

बाह्रदशी गाँउपालिकाको सिमाना र वडा यथावत राख्ने सर्वदलीय निर्णय

बाह्रदशी गाँउपालिकाको सिमाना र वडा यथावत राख्ने सर्वदलीय निर्णय


झापा । झापाको बाह्रदशी गाउँपालिकाले आफ्नो सम्पूर्ण प्रशासनिक तथा भौगोलिक सिमाना र वडाहरूको संरचना हाल कायम रहेकै अवस्थामा यथावत राख्ने निर्णय गरेको छ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र जिल्ला समन्वय समितिको पत्रअनुसार स्थानीय तह तथा वडाको सिमाना हेरफेर, सङ्ख्या पुनरावलोकन तथा वर्गीकरण मापदण्ड २०८३ का सम्बन्धमा बसेको सर्वदलीय बैठकले सर्वसम्मत निर्णय गरेको हो।

बैठकमा गाउँपालिकाको भौगोलिक सिमाना र वडा सङ्ख्या परिवर्तन नगरी साबिककै अवस्थामा कायम राख्ने र गाउँपालिकाको सोही एकीकृत धारणा सम्बन्धित निकायमा पठाउने सहमति भएको छ। यसका साथै आवश्यक समन्वय र पहलकदमी लिने निर्णय पनि बैठकले गरेको छ।

भविष्यमा कुनै कानुनी, प्रशासनिक वा नीतिगत कारणले सिमाना वा वडा हेरफेर गर्नुपर्ने अवस्था सिर्जना भएमा, सर्वदलीय सहमति, स्थानीय जनप्रतिनिधि तथा सरोकारवाला निकायहरूसँग व्यापक छलफल गरेर मात्र प्रक्रिया अघि बढाइने जनाइएको छ। प्रचलित कानुन, तोकिएको मापदण्ड र जनहितलाई मुख्य आधार बनाएर मात्र यससम्बन्धी आगामी निर्णय लिइ कार्यान्वयन गरिने सहमति पत्रमा उल्लेख छ।

शेयर गर्नुहोस :

0
Shares